शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताएका हुन् ।

उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताएका छन् । उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताए । इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने मन्त्री पौडेलको भनाई छ । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताएका छन् । उनले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताए ।

उनले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी गरेका छन् । मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताएका छन् । मन्त्री पौडेलले अबबाट नै विद्यालय सुधारमा लाग्नुपर्नेमा समेत जोड दिएका छन् ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्यांकन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताएका छन् । उनले यसवर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरूको नतिजा कम आएको र धेरै अनुत्तीर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताए । उनले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने बताएका छन् ।

अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्तरीकृत परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले कक्षा १२ पछि विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताए । परीक्षा बोर्डले विद्यार्थी र शिक्षकको ग्रेडिङ मात्रै मापन गर्ने नभइ विद्यालयकै स्तर मापन गरिरहेको र सुधारका लागि योजना बनाउने काममा लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्