ज्ञानेन्द्र भन्छन्- ‘एकदिवसीयमा ध्यान दिनुपर्छ’



काठमाडौं । ५ महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन्।

कीर्तिपुर स्थित टियु मैदानमा ‘कमब्याक’ पछि सञ्चारमाध्यमसँग बोल्दै ज्ञानेन्द्रले टिममा फर्कँदा खुसी भएको र अबको लक्ष्य ५० ओभरको खेलमा हुनुपर्ने बताएका छन्।

‘कमब्याक हुनु खुसीको कुरा हो। खेलाडीको नाताले जहिले पनि खेलौं भन्ने हुन्छ। राष्ट्रिय टिममा खेल्न पाउनु कुनै पनि खेलाडीको लागि सपना हो। फेरि आउन पाएकोमा खुसी छु। फेरि टिमलाई योगदान गर्न सक्छु भन्ने छ,’ ज्ञानेन्द्र भन्छन्।

गत मार्चमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट् (युएई)विरुद्ध खेले यता ज्ञानेन्द्र टिम बाहिर थिए। त्यसयता नेपालले केही अन्तर्राष्ट्रिय घरेलु श्रृंखला र बाहिर गएर खेलेको थियो।

ज्ञानेन्द्रले सबै खेलाडी टिम भित्र नहुने र सबै आफ्नो बसमा नहुँदा टिममा फर्कनमा ध्यान दिएको बताए। ‘टिम बाहिर बस्दा गाह्रोभन्दा पनि स्वीकार गर्नुपर्छ। सबै भित्र हुँदैन। सबै यो समयबाट गुज्रिन्छ। सबै नियन्त्रणमा हुँदैन। त्यसैमा ध्यान थिए’, उनले भने।

नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्लो वर्ष ज्ञानेन्द्र सहित दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तानी सुम्पिएको थियो।

नेपालले आगामी महिना केन्यासँग ५ टी-२० श्रृंखला र ३ एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्दैछ। जुन खेल २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यामै हुनेछ।

यस्तै क्यानले मुख्य प्रशिक्षकमा भारतीय नागरिक मनोज प्रभाकरलाई नियुक्त गरेको छ। प्रशिक्षक पुवुदु दासानायकेले टिम प्रशिक्षण गराउँदा बाहिर रहेका ज्ञानेन्द्र प्रभाकरको प्रशिक्षणमा फर्किएका हुन्।

ज्ञानेन्द्रले जिन्दगी नै क्रिकेटमा बिताएको र यसबाट बाहिर रहँदा ‘मिस’ हुने बताए। ‘मैदानमा आउने खेल्ने, जिन्दगीनै यही बिताएको जस्तो लाग्छ। मेरो घर नै यही हो भन्छन्। श्रीमती र छोरी पास हुँदा, ‘उ घर आयो’ बाबाको भन्छन्। यसरी बिताएको जीवनी हो। यहाँ त्यसरी नहुँदा मिस हुन्छ। तर यो हुने नै हो। जिन्दगी फरक त हुन्छ नै,’ ३१ वर्षीय दायाँ हाते ब्याटर मल्लले भने।

यस्तै, ज्ञानेन्द्रले अनुभवी कोचको निर्देशनमा एकदिवसीय खेलमा ध्यान दिएर केन्या टुर जित्न खेल्ने बताए। ‘कोच अनुभवी हुनुहुन्छ। हामीले सोचेकोभन्दा राम्रो खेल्नुभएको छ। ५० ओभरमा फोकस हुनुपर्छ। केन्या भ्रमणमा जाने जित्न नै हो’ उनले भने।

प्रतिक्रिया दिनुहोस्