नाच्ने महिला, गीत गाउने र हिट हुने पुरुष



काठमाडौं : महिलाहरुको महान चाड हरितालिका तीज आउन चार दिन मात्र बाँकी छ । हिन्दु महिलाहरु तीजमा आफ्नो श्रीमानको दिर्घायुको लागि व्रत बस्दै आएका छन् । तर, के पुरुषहरु महिलाको दीर्घ आयुको लागि बस्ने गरेका छन् त ? यो बहसको विषय बनेको छ । 

यो बहसको विषयलाई एकतिर थाति राखेर महिलाहरुले मनाउने हरितालिका तीज पुरुषहरुले कसरी हेर्छन त ? हामीले यसलाई चिरफार गर्ने प्रयास गरेका छौ । 

हरितालिका तीज भन्ने शब्द सुन्ने वित्तिकै माइत जाने, रमाइलो गर्ने, गीत घन्काएर छमछमी नाच्ने भन्ने बुझिन्छ । अर्थात् तीज शब्दले पुरुषलाई भन्दा महिलाहरुलाई फुरुङ्ग पार्छ । हिन्दु नारीहरुको महान चाड तीजलाई मध्यनजर गर्दै महिलाहरुलाई प्राथमिकतामा राखेर बिदा दिने गरिन्छ । 

यतिबेला हिन्दु नारीहरुको महान चाड तीज पूर्व सन्ध्यामा रहेको छ । गाउँ घरमा बेलुका परेपछि मादलको टुङ्ग आवाजसँगै शहर बजारका पसलदेखि गाडी, घर, विभिन्न कल कारखानाहरुमा तीजका गीत घन्किन सुरु भएको छ । यससँगै महिला दिदीबहिनीहरु आपसमा भेटघाट गरेर मिठामिठा परिकार खाने तथा नाचगान गरेर रमाइलो गर्ने क्रम पनि सुरु भइसकेको छ, जसलाई दर खाने पनि भनिन्छ ।  

हिन्दु नारीहरुले शिवपार्वतीको कथाबाट प्रभावित भएर मनाउन थालेको तीजले आधुनिकतामा प्रवेश गर्दा अन्य समुदमयमा समेत प्रभाव विस्तार गर्दै जानुका साथै पुरुषहरुको संलग्नता पनि बढ्दै गएको पाइन्छ । तीजका गीत गाउनेदेखि तीज गीतमा छमछमी नाच्ने, दर खाने समारोहमा पनि सहभागी हुने परम्परा बढ्दो छ । तीज गीतको कुरा गर्ने हो भने पछिल्लो समय महिलाले भन्दा पुरुषले गाएका तीज गीतहरु नै हिट बनेका छन् र महिलाका तुलनामा पुरुषहरु नै बढी तीज गीत गाएकोसम्म देख्न सकिन्छ । साथै तीजमा महिलाहरु नै निराहार व्रत बस्नुपर्ने मान्यतामा पनि परिवर्तन भइ पुरुषहरु पनि व्रत बस्न थालेका छन् । यसैबीच अहिले गायक दुर्गेस थापाको गीत ‘दिदीबहिनी मात्र नाच्छन् जइले पनि तीजमा हामी पनि नाच्नुपर्छ बिचबिचमा..’ले बजार तताएको छ । 

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रि गोकुल बाँस्कोटाले महिलाहरुले श्रीमानको आयु बढाउनका निम्ति व्रत बस्ने कुरालाई ज्यादा महत्व दिँदै हरितालिका तीज मनाउने कुराप्रति असहमत जनाउछन् । 

मन्त्रि बाँस्कोटा भन्छन् – नेपाली समाजको चेतना स्तर बढिसकेको छ । हिजैको ढर्रा र शैलिमा हैन नयाँ ढंगले तीजको परिभाषा र मनाउने तरिका तर्फ अघि बढ्नु पर्छ । २१ औँ शताब्दीको समाजमा श्रीमानको दीर्घायुको निम्ति महिलाहरु भोक–भोकै बस्ने कुरा पछ्यौटे पनको एउटा उदाहरुण हो । जसलाई बदल्न जरुरी छ । 

‘महिलाहरुले पुरुषको दीर्घायुको निम्ति व्रत बस्नु पर्ने ? के महिलाहरुको दीर्घायुको निम्ति पुरुषहरुले व्रत बसेका छन् ?’ मन्त्रि बाँस्कोटा प्रश्न गर्छन् । 

तीजमा परम्परमगत रुपमा चल्दै आएको मान्यता जे छ त्यसलाई परिवर्तन गर्नुपर्ने मान्नुहुन्न काठमाडौं ठूलोभ-याङ निवासी प्रदिप नेपाल । उनी भन्छन् ‘तीज संस्कृति जगेर्ना गर्ने मध्येको एक चाड हो । महिलाहरु खुसी-खुसी आफ्नो श्रीमान वा हुनेवाला श्रीमानका लागि व्रत बस्छन्, जमघट गरेर रमाइलो गर्छन् यो एउटा परम्परा हो नी ! यो विशेषगरी महिलाहरु कै चाड हो ।’ उनले भने, ‘मलाई लाग्दैन यसै दिन पुरुषहरुले पनि व्रत बस्नुपर्छ । यो त महिलाहरुले पनि जनै पूर्णिमामा जनै लगाउनुपर्छ भने जस्तो भइगो नी ! बरु सकिन्छ भने बढ्दो विकृति रोक्ने प्रयास चै गरौँ ।’ 

चाडपर्व भनेका मुलुकका संस्कृति हुन् । यसकारण यस्ता चाडपर्वमा पश्चिमाकरण भित्र्याउनुको सट्टा संरक्षणका लागि विभिन्न जागरणमुखी कार्य गरी पछिल्लो समय भड्किलो बन्दै गएको यस चाडमा मौलिकता भित्र्याउन सकिन्छ र आवश्यकता पनि रहेको छ । 

Image result for teej

तीजले पतिपत्नीको प्रेम अझ दरिलो पार्ने हुनाले पतिले पनि पत्नीका लागि व्रत बसेर साथ दिँदा अझ सम्बन्धमा आत्मियता थपिने बताउछन् ज्योती विकास बैंकका शाखा प्रबन्धक सन्दिप प्रसाद मिश्र । मिश्र भन्छन्- ‘कुनै पनि चाड महिलाले मात्र मनाउने वा पुरुषले मात्र मनाउने हो जस्तो लाग्दैन् । तीज महिला दिदीबहिनीहरुका लागि सुख–दुःख साटासाट गर्ने र आत्मियता बढाउने चाड भएकाले महिलाहरुलाई विशेष महत्व दिइन्छ र दिनुपनि पर्छ यसको मतलब यो होइन कि पुरुषहरु त्यसमा सरिक नै हुनुहुँदैन् ।’

तीजमा दिदीबहिनी लिन दाजुभाइ नै जानुपर्ने परम्पराले यो पर्व पुरुषका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताउछन् कक्षा १२ मा अध्ययनरत विद्यार्थी भरत न्यौपाने । उनले भने-  ‘तीजमा दिदीहरुलाई लिन जाने हामी नै हो अनि हामीले चैै तीज मान्नुहुन्न भन्ने त छैन् नी! ’ उनी हाँस्दै थप्छन्-‘म त विगत दुई वर्षदेखि राम्री र संस्कारी श्रीमती पाउँ भनेर तीजमा व्रत बसिराको छु ।’ 

यो पर्वको सुन्दर पक्ष भनेको मौलिक तीज गीत पनि हो तर अहिलेका तीज गीतमा न सुर न ताल न मिठास पाइन्छ । यस्तै एक महिना अघिदेखि विभिन्न पार्टि प्यालेस र रेष्टुरेण्टमा दर खाने प्रचलनले पनि विकृति निम्तिरहेका छन् त्यसकारण तिनको न्यूनिकरणका लागि महिला वा पुरुष युवाहरुले चेतनामुलक अभियान थाल्नुपर्ने आवश्यकता देखिन्छ ।

स्याङ्जाका स्थायी शिक्षक कृष्ण पौडेलले भने- ‘आज भोली तीज मनाउने शैलीले हुने खाने र हुँदा खानेहरुबीचको खाडल फराकिलो पार्ने काम गर्न थालेको छ । त्यसैले तीजलाई तडकभडक, भोकै बसेर स्वास्थ्य बिगार्नेभन्दा पतिपत्नी, दाजुभाई, दिदीबहिनी, आमाबुवा, छोराछोरीबीच सदभाव दर्साउने, रमाइलो गर्ने र पीडा भुलाउने चाडका रुपमा किन नमनाउने ?’

प्रतिक्रिया दिनुहोस्