युवा बिना देशको विकास र समृद्धि अकल्पनीय : प्रवक्ता लावती



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले युवा तरुण बिना देशको विकास र समृद्धि अकल्पनीय रहने बताएका छन् ।

‘युवाहरु समाज विकासका अभिन्न साझेदार हुन् । युवाहरुले समाजका सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । युवा तरुण बिना देश विकास र समृद्धिको कल्पना पनि सकिन्न, यद्यपि वर्तमानका साझेदारलाई भविष्यका कर्णाधार भन्दै युवा भूमिकालाई सीमित राख्ने क्रम जारी छ,’ प्रवक्ता लावतीले भने ।

‘नेपाल युवाहरुको देश हो । जबसम्म युवा पुस्ताको अकाट्य योगदान स्वीकार गरिन्न, समाज विकासका लक्ष्य प्राप्त कठिन हुनेछ,’ लावतीले भने । युवाहरुको अपरिहार्य योगदान र सकारात्मक भूमिकालाई लिएर राप्रपामा कुनै द्विविधा नरहेको उनको भनाइ थियो ।

यसै सन्दर्भमा, प्रवासमा रहेका युवाहरुले श्रम गरेर स्वदेश पठाएको विप्रेषणले हिंसात्मक द्वन्द्व र कोभिड महामारीको समयमा नेपाली अर्थतन्त्रलाई जोगाएको दृष्टान्त उनले प्रस्तुत गरे ।

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लावतीले यस्तो विचार राखेका हुन् । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुको सहयोग र सद्भाव लावतीले आह्वान गरे ।

जूम अन्तरक्रियामा भाग लिँदै दक्षिण कोरियास्थित युवाहरुले, विदेशमा कार्यरत युवाहरु स्वदेश फर्किएर क्रियाशील हुन कर छुटको व्यवस्था लागू गर्न माग गरे । यसैगरी नेपालमा कलकारखाना र उद्योग स्थापना, रोजगार सिर्जनाका लागि विशेष नीति अख्तियार गरेर युवाहरुलाई घर फर्कन, नेपाली पूँजी स्वदेश फर्काउन राप्रपाले अभियान संचालन गर्नु पर्ने सुझाव दिए ।

श्रमदानलाई देश विकासको अभिन्न अंग बनाउन, बेथितीको रुपमा रहेको हुण्डी व्यवस्था पूर्ण नियन्त्रण गर्न वक्ताहरुले माग गरे ।

प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाका अध्यक्ष सञ्जीव भण्डारीले राष्ट्रियता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरे । राष्ट्रवादी शक्तिको रुपमा राप्रपाले देश र धर्म बचाउन अग्रसर हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्