कांग्रेस नेता प्रदीप गिरिको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि ललितपुरको मेडिसिटी अस्पतालको आईसीयूमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३० मिनेटमा उनको निधन भएको हो।

काङ्ग्रेस सचेतक मीन विश्वकर्माले गिरिको शनिबार राति निधन भएको पुष्टि गरेका छन्। स्वास्थ्यमा सुधार नदेखिएपछि परिवारको आग्रहमा भेण्टिलेटर हटाइएका उनलाई चिकित्सकले मृत घोषित गरे। उनलाई चार दिनदेखि भेन्टिलेटरमा अक्सिजन दिएर राखिएको थियो।

गिरीका शरीरका अधिकांश अंग प्रत्यंगले काम गर्न छोडेपछि उनलाई परिवारका सदस्यले भेन्टिलेटरबाट निकाल्न भनेका थिए। भारतमा नयाँदिल्ली र मुम्बईमा घाँटीको सफल शल्यक्रिया गरेर नेपाल फर्किएका गिरीलाई निमोनिया भएको थियो। त्यसपछि उनी मेडिसिटी अस्पताल भर्ना भएका थिए।

गिरिका १ छोरा र श्रीमती छन्। बौद्धिक वृत्तमा लोकप्रिय र सम्मानित गिरि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिरहा क्षेत्र नं.–१ बाट निर्वाचित भएका थिए । नेपाली राजनीतिमा गिरि ‘थिङ्क ट्यांक’का रूपमा परिचित थिए।

उनका विचार, भाषणकला र मन्तव्यबाट प्रभावित हुँदै आदर्श उनलाई ठान्नेको कमी छैन। बुबा मित्रलाल गिरि नेपाली कांग्रेसका नेता भएकाले सानै उमेरमा प्रदीप राजनीतिमा संलग्न थिए । २०१७ सालदेखि सक्रिय राजनीति प्रारम्भ गरेका गिरिले सङ्घर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झन्डै १ वर्षसमेत गरी ४ वर्ष जेल जीवन बिताएका थिए ।

गिरि २०२४ सालमा नेपाल छात्र सङ्घ (वनारस)को निर्वाचित उपाध्यक्ष थिए। २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित गिरिले २०५६ सालको संसदीय निर्वाचनमा समेत सहभागी थिए। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गिरि अध्ययनमा विशेष रुचि राख्थे।

गिरि नेपालका प्रायः सबै राजनीतिक दलका नेताहरूका वैचारिक गुरु मानिन्छन्। कांग्रेस राजनीतिमा लामो समयदेखि कोइराला खेमाइतर रहेका गिरि २०५७ सालमा पोखरामा भएको दशौँ महाधिवेशनको क्रममा शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस विभाजन भएको समयमा उनी कांग्रेस प्रजातान्त्रिकमा आबद्ध थिए।

प्रतिक्रिया दिनुहोस्