कतारलाई चाहियो नेपालका हात्ती र बाज



काठमाडौं । खाडी राष्ट्र कतारले नेपालसँग बाज र हात्ती मागेको छ । शाही बाज र १ जोडी पाल्तु हात्ती उपहारस्वरुप उपलब्ध गराउन कतारले नेपाल सरकारलाई पत्राचार गरेको हो ।

कतारका अमिर शेख हमाद बिल खालिफा अल थानीले यी जीवबारे चासो लिएका हुन्। आफ्नो देशको चिडियाखानामा प्रर्दशनीका लागि हात्ती मागेको कतारले बाजको प्रयोजन भने खुलाएको छैन। कतारको राष्ट्रिय पक्षी बाज खेल पर्यटन र संस्कृतिसँग पनि जोडिएको छ।

कतारको यस्तो प्रस्तावपछि वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विषयविज्ञ र सरोकारवालाहरूसँग छलफल गरेको छ। यसबारेको गृहकार्य अघि बढाउन मन्त्रालयले सहसचिव धनञ्जय पौडेलको संयोजकत्वमा कार्यदल बनाएको छ।

‘हात्तीको प्रयोजन प्रष्ट भए पनि बाज केका लागि र कति सङ्ख्यामा माग गरिएको भन्ने खुलेको छैन, तत्काल दिन मिल्ने गरी हाम्रो चिडियाखानामा बाजको सङ्ख्या पर्याप्त नभएकाले १ चरण छलफल गरेका हौँ’, मन्त्रालयका १ अधिकारीले भने ।

दुवैथरी जन्तु एकैसाथ उपलब्ध गराउन सकिने/नसकिनेबारे विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, प्राकृतिक इतिहास सङ्ग्राहलय, नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन)का अधिकारीहरूबीच २ महिनाअघि छलफल भएको हो । बाजको सङ्ख्या र प्रयोजन प्रष्ट नभएकाले पुनः जानकारी लिनुपर्ने, आवश्यक परे कतार भ्रमणमा जानुपर्ने विज्ञहरू सुझाएका छन् ।

वन्यजन्तु विभागका इकोलोजिस्ट गणेश पन्तको संयोजकत्वमा सदर चिडियाखाना र बीसीएन प्रतिनिधि संलग्न टोली गत असार तेस्रो साता कतार जाने तयारीमा थियो। कतारले पुनः चासो दिएपछि भ्रमणमा जान उपयुक्त हुने परराष्ट्र मन्त्रालयको सुझावपछि तत्काललाई यसबारेको तयारी रोकिएको पन्तले जानकारी दिए ।

शाही बाजको सङ्ख्या प्रष्ट नभए पनि कम्तीमा २ जोडी हस्तान्तरण गर्न सकिने विज्ञहरूले सुझाएको उनले बताए । सिकारी चरासमेत भनिने बाज छोटो समयका लागि तीव्र गतिमा उड्न सक्छ । कतारले संरक्षण र सिकार दुवै प्रयोजनका लागि बाज हुकाउने गर्छ।

परराष्ट्र मन्त्रालयका अनुसार ४ वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा त्यहाँका राष्ट्रध्यक्षले नेपालका हात्ती र बाजबारे चासो लिएका थिए। तर कोरोना सङ्क्रमणपछि यो विषय थाती थियो। नेपालमा बाजका विभिन्न ११ प्रजाति अभिलेख भएका छन् ।

नेपालमा पौरी बाज, सानो बौंडाइ, बौंडाइ, रातो टाउके बौंडाइ, अमुर बाज, सानो बाज, जुँगे चिरान्तक बाज, चिरान्तक बाज, लागर बाज, तोप बाज र शाही बाज छन्। नेपालमा पाइनेमध्ये शाही बाजका पनि २ उपप्रजाति छन्। हिउँदे आगन्तुक र नेपालकै रैथानेसहित २ उपप्रजाति रहेको पक्षीविद् डा. हेमसागर बरालले जानकारी दिए।

नेपालमा २०० देखि २२७ हाराहारी जङ्गली हात्ती छन्। बर्दियामा १२०, चितवन–पर्सामा ५० देखि ६०, शुक्लाफाँटामा २५ देखि ३० नेपाल–भारत (झापा, मोरङ, कोसीटप्पु र आसपासका भेगमा) ओहोरदोहोर गरिरहने १९ हात्ती छन् ।

त्यसैगरी १७६ पाल्तु हात्ती रहेकामा १०० हाराहारी सरकारी र निजी क्षेत्रका होटल रिसोर्टको स्वामित्वमा छन् । मान्छेको आनीबानीसँग अभ्यस्त हुने भएकाले सरकारले उपहारमा पाल्तु हात्ती उपलब्ध गराउन सक्ने हात्ती अनुसन्धाता डा. अशोक रामले बताए।

नेपालले विभिन्न देशलाई उपहारस्वरुप जीवजन्तु उपलब्ध गराएको छ। भारत, चीन, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगायत देशमा २८ वटा गैँडा उपहारस्वरूप पठाएको छ। सरकारले पछिल्लो पटक ४ वर्षअघि २०७५ मा चीनलाई डेढदेखि २ वर्ष हाराहारीका २ जोडी गैँडा उपलब्ध गराएको थियो।

‘भद्र’ र ‘रुपसी’ नामका १ जोडी २८ असार २०७५ मा र ‘सोल्टी’ र ‘मितिनी’ नाम दिइएका अर्को जोडी ३२ साउन २०७५ मा चीनलाई हस्तान्तरण गरिएको थियो। चीन सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको करिब डेढ वर्षपछि मृत्यु भइसकेको छ। सांघाई जुलोजिकल पार्कमा रहेका ‘भद्र’ र ‘रुपसी’को अवस्था भने राम्रो रहेको वन्यजन्तु विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्