एसएसपी सरुवाको तयारी 



काठमाडौं : प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक (एसपी)हरुको व्यापक सरुवा गरेको गृहप्रशासन वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) को सरुवाको तयारीमा जुटेको छ। सरुवाको आन्तरिक तयारी बढेसँगै एसएसपी प्रमुख रहने कार्यालयहरुमा जानका लागि दौडधुप शुरु भएको छ।

उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुरमा प्रमुख रहने भएतापनि काठमाडौमा केही समय अघि मात्र उत्तम सुवेदी आएकाले ललितपुर, भक्तपुर, ट्राफिक महाशाखा लगायतका ठाउँमा जानका निम्ति दौडधुप शुरु भएको हो।

गृहस्रोतका अनुसार अख्तियारमा रहेका एसएसपी अरुण बिसी, महानगरीय आयुक्तको कार्यालमा रहेका श्याम ज्ञवाली, एयरपोर्टमा रहेको सन्दिप भण्डारी र टेकप्रसाद राई मध्ये ललितपुर, भक्तपुर र महानगरीय ट्राफिक महाशाखामा जान चर्को लविङ छ। त्यसैगरी अवधि पुगेका प्रहरी तालिम केन्द्रहरुमा जानका निम्ति पनि दौडधुप तीब्र छ। 

मालदार अड्डाको रुपमा रहेका ट्राफिक महाशाखा रामशाहपथ, ललितपुर र तालिमकेन्द्रहरुमा पठाउने विषयमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र आईजीपी सर्वेन्द्र खनालबीच अझैसम्म कुरा मिल्न सकिरहेको छैन। यी बीच कुरा मिलेमा छिट्टै नै सरुवाको सूचि सार्वजनिक हुने स्रोतले बताएको छ। 

यसैबिच हिजाे नेपाल प्रहरीका ५० प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार ५० एसपीको सरुवा भएको प्रहरी प्रधानकार्यालय, मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस्