प्रहरीले अभिभावकको जिम्मा लगाएका युवायुवती मृत अवस्थामा भेटिए



कञ्चनपुर । कञ्चनपुरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। केहि समयअघि प्रहरीले अभिभावकको जिम्मा लगाएका युवायुवती मृत अवस्थामा भेटिएका हुन्। जिल्लाको कृष्णपुर नगरपालिका-४ का १८ वर्षीय दिनेश भट्ट र सोही नगरपालिका-५ बस्ने १८ वर्षकै पुजा देउवा आइतबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रेमीप्रेमिका समेत रहेका दुवै जना आ-आफ्नो घरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए। उनकाअनुसार लामो समयदेखि उनीहरु प्रेम सम्बन्धमा रहेका थिए।

केही दिन अघि दिनेशले प्रेम विवाह गर्ने भन्दै पुजालाई भगाएर आफ्नो घर लगेका थिए। पुजाका परिवारले इलाका प्रहरी कार्यालय गुलरियामा ठाडो उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको बताउँदै युवायुवतीको उमेर नपुगेको कारणले अभिभावकको जिम्मा लगाएको गिरीले जानकारी दिए।

भदौ ३ गते प्रहरीमा पुगेका दुवै पक्षलाई सम्झाइबुझाइ गरेर छोराछोरी जिम्मा लगाएकोमा आइतबार बिहान दिनेश आफ्नो घरको कोठामा र पुजा दिउँसो करीब साढे ४ बजेतिर आफ्नो घरको कोठामा मृत अवस्थामा फेला परेका हुन्। उनीहरु मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्