कङ्गोमा वर्षदिनमा इबोला संक्रमणबाट दुई हजार जनाको मृत्यु



एजेन्सी : डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरुले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कंगोलीको ज्यान गएको समाचार दिएका छन्।

उनीहरुका अनुसार उक्त प्रकोपबाट संक्रमितहरुको संख्या तीन हजार जना रहेको थियो। इबोला संक्रमितहरुको संख्या तीन हजार थियो र उनीहरुमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको हो, अधिकारीहरुले जनाएका छन्।

बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारी अनुसार सो संक्रमणबाट दुई हजार छ जनाको ज्यान गएको छ। ती मध्ये एक हजार ९०१ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो। उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा सन् २०१८ को अगष्टमा देखा परेको थियो।

पछि सो प्रान्त हुदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो। स्वास्थ्य अधिकारीहरुले उक्त संक्रमणबाट प्रभावित ९०२ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन्। अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९०२ जना विरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ।

यो संक्रमणको नाम इबोला उत्तरी कंगोको एक नदीको नामबाट राखिएको बताइन्छ। उक्त नदी क्षेत्रमा यस संक्रमणका विरामी सन् १९७६ मा फेला परेका थिए। यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौँ नागरिकको ज्यान गएको छ।

अफ्रिकी देशहरुमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका समाचारहरु आइरहेका थिए। यस संक्रमणबाट गुएना, सियरा लियोन, लाइबेरियामा धेरै मानिसको ज्यान गएको छ। पछिल्लो सयम सन् २०१४ मा यो संक्रमणले धेरै नागरिकको ज्यान लिएको थियो।

सन् २०१४ देखि सुरु भएको यस संक्रमणबाट दुई वर्षमा नै कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो। त्यसपछि विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई महामारीका रुपमा घोषणा गरेको थियो।

विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य क्षेत्रकै संकटकालका रुपमा घोषणा गरेको थियो। उक्त संगठनको पहलमा खोपको विकास गरी पछि प्रभावित देशका कम्तीमा पनि २ लाख मानिसलाई इबोला विरुद्धको खोप लगाइएको थियो।

अहिले पनि ती देशमा यो संक्रमण जन स्वास्थ्यकै एक प्रमुख समस्याका रुपमा रहेको छ र ती देशका सरकारहरुले इबोलाविरुद्ध विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गर्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्