ट्रमा सेन्टर सञ्चालनका लागि आर्थिक सहयोग



कुरिनटार : चितवनको इच्छाकामना–४ कुरिनटारमा रहेको ट्रमा सेन्टर सञ्चालनका लागि इच्छाकामना गाउँपालिकले आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले आव २०७६÷७७ देखि मासिक रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

डेढ वर्षअघि अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । आर्थिक र उपकरण अभावका कारण उक्त ट्रमा सेन्टर पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैन ।

गाउँपालिका अध्यक्ष गुरुङले भने, “आर्थिक अभावका कारण ट्रमा सेन्टर सञ्चालन गर्न समस्या रहेछ, यसलाई सञ्चालनका लागि केही सहयोग पुगोस् भनी मासिक रु ५० हजार सहयोग गर्ने हामीले निर्णय गरेका छौँ ।”

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने विशेषगरी सवारी दुर्घटनाका घाइतेको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु हुने गरेका कारण ट्रमा सेन्टरलाई जति सक्दो पूर्ण रुपमा सञ्चालन गर्नपर्ने अध्यक्ष गुरुङको भनाइ छ ।

ट्रमा सेन्टर एक महीनादेखि आंशिक रुपमा मात्र सञ्चालनमा आएको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले जानकारी दिए । उनका अनुसार कात्तिकदेखि पूर्णरुपमा सञ्चालन गर्ने तयारीका साथ प्रक्रिया अघि बढी सकेको छ ।

एक्सरे मेशिन, प्रयोगशालालगायतका महत्वपूर्ण उपकरण दुई महीनापछि उपलब्ध हुने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले बताए । अहिले ट्रमा सेन्टरमा सशस्त्र प्रहरीको एक जना डाक्टर र एक नर्ससहित सात जना स्वास्थ्यकर्मी छन् ।

वरिष्ठ उपरीक्षक प्रधानका अनुसार अपाङ्गमैत्री सुविधा सम्पन्न सेन्टरमा सख्त, मध्यम र सामान्य घाइतेलाई राखेर उपचार गर्ने छुट्टै कक्ष, घाइतेको सामान्य शल्यक्रिया गर्ने कक्ष, ‘ड्रेसिङ’ कक्ष, औषधि पसल र शौचालय छन् ।

वरिष्ठ उपरीक्षक प्रधानले सेन्टर पूर्ण रुपमा सञ्चालनमा आएपछि दुर्घटनाका घाइतेका साथै स्थानीयवासी पनि लाभान्वित हुने जानकारी गराए । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्षित गरी निर्माण गरिएको उक्त सेन्टर २५ शैय्याको छ ।

दुर्घटनामा उद्धार भएकालाई तत्काल प्राथमिक उपचार गर्न ट्रमा सेन्टर उपयोगी मानिन्छ । सो ठाउँबाट सबैभन्दा नजिकको दूरी ४० किलोमिटर भरतपुर हो भने काठमाडौँ र पोखरा एक÷एक सय किलोमिटर हाराहारीमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्