नेपालको वैदेशिक व्यापारको स्थिति



  • डा. सुमनकुमार रेग्मी

काठमाडौं । नेपाल दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौता (साफ्टा) तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) जस्ता क्षेत्रीय व्यापार सङ्गठनमा क्रियाशील रहँदै आएको छ । यस्तो क्षेत्रीय अवधारणामार्फत व्यापारमा अधिकतम सहजीकरण तथा क्षेत्रीय एकीकरण गर्दै फाइदा पाउनका लागि व्यापारमा खास बढोत्तरी हुन नसकेको अवस्था छ ।

बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताले समेट्ने वस्तु व्यापार, सेवा व्यापार र लगानीमध्ये वस्तु व्यापारसम्बन्धी सम्झौता भएको छ । यसका साथै नेपाल एसिया प्रशान्त क्षेत्रीय व्यापार सम्झौता (एपीटीए)मा पर्यवेक्षकको रूपमा छ । नेपालले एपीटीएको सदस्यता लिई फाइदा लिन सकेन । एपीटीएको स्थापनामा नेपाल अबजर्भर थियो तर पछि क्रियाशील भएन ।

व्यापार उदारीकरण कार्यक्रम (टीएलपी)अन्तर्गत भन्सार दरलाई क्रमशः घटाई सन् २०१६ को जनवरीसम्ममा ० देखि ५ प्रतिशतमा राख्नुपर्ने प्रावधान रहेकाले भन्सार दर घटाउँदै लैजानुपर्ने कार्यक्रम क्रमिक रूपमा ल्याइँदै छ । सम्वेदनशील सूचीमा समावेश भएका वस्तुहरूमध्ये २० प्रतिशत वस्तुहरूलाई सो सूचीबाट हटाउन त्यस्तो सूची नेपालले सार्क सचिवालयमा पठाइसकेको थियो तर भनिएको जस्तो समयमा गरिआएको छैन ।

आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा १६४ वटा देशबाट १९ खर्ब २१ अर्ब रूपैयाँभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८/०७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाख रूपैयाँभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्ब रूपैयाँभन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख रूपैयाँ बराबरका सामान निर्यात भएका थिए ।
नेपालले भारतसँग मात्र २०७८/०७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाख रूपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । २०७८/०७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रूपैयाँ बराबरको आयात भएकामा ८० करोड ८७ लाख ५४ हजार रूपैयाँ बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख रूपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ । २०७८/०७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाख रूपैयाँ बराबरको स्वदेशी कुल वस्तु निर्यात गरेको थियो । २०७७/०७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रूपैयाँको सामान निर्यात गरेको थियो । २०७७/०७८ को तुलनामा २०७८/०७९ मा आयात २४ दशमलब ७२ र निर्यात ४१ दशमलब ७४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटा वृद्धि भएको थियो । २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ । २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको थियो ।

आ.व. २०७८/०७९ मा देशको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रूपैयाा पुगेको थियो । आ.व. २०७७/०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रूपैयाँ बराबरको थियो । आ.व. २०७८/०७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो तर २०७७/०७८ को तुलनामा २६ दशमलब १५ प्रतिशतले बढी रहेको छ । आ.व. २०७७/०७८ मा नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो।

कृषिप्रधान देशमा २ खर्ब ५० करोड रूपैयाँको खाद्यान्न आयात हुँदा हीनताबोध भएको छ । आ.व. २०७८/०७९ मा वार्षिक बजेटभन्दा झण्डै ३ खर्ब रूपैयाँ बढीको आयात, १७ खर्ब रूपैयाँ बढीको व्याापार घाटा रहेको देखिन्छ । १ वर्षको अवधिमा नेपालले १९ खर्ब २० अर्ब रूपैयाँको आयात गरिएको देखिन्छ ।

आ.व. २०७८/०७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्ब रूपैयाँको थियो । २०७८/०७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ छ । २०७८/०७९ मा नेपालले सबभन्दा बढी इन्धनको आयातमा खर्च भएको छ । १ वर्षको अवधिमा नेपालले ३ खर्ब ८३ अर्ब रूपैयाँभन्दा बढीको इन्धन आयात गरेको छ । नेपालले इन्धनपछि सबभन्दा बढी खाद्यान्न, फलामजन्य सामग्री, इलेक्ट्रोनिक सामग्री आयात गरेको छ ।

व्यापार घाटा सबभन्दा बढी भारतसँग भएको छ । नेपालले भारतबाट १२ खर्ब १५ करोड रूपैयाँको सामान आयात भएको छ । भारतबाट १२ खर्ब रूपैयाँभन्दा बढी सामान आयात हँुदा केवल ५५ अर्ब २२ करोड रूपैयाँ बराबरको सामान मात्र भारतर्फ निर्यात भएको छ । नेपालले १० खर्ब ४४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढीको व्यापार घाटा भारतसँग बेहोरेको छ ।
भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोड रूपैयाँको व्यापार घाटा रहेको छ ।

१ वर्षमा नेपालको २१ खर्ब २० अर्ब ४७ करोेड रूपैयाँको वैदेशिक व्यापार रहेको छ । आ.व. २०७७/०७८ मा नेपालको १६ खर्ब ८० अर्ब १७ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो । सबै देशसँग व्यापार घाटाको कुरा गर्ने हो भने आ.व. २०६९/०७० मा ५ खर्ब ३६ अर्ब २३ करोड रूपैयाा थियो भने १० वर्षपछि अर्थात् आ.व. २०७८÷०७९ मा १७ खर्ब २० अर्ब ४१ करोड रूपैयाँ रहेको छ ।

आ.व. २०७८/०७९ मा मात्र डिजेलमा १ खर्ब ६८ अर्ब २३ करोड, पेट्रोलमा ७१ अर्ब ३८ करोड र एलपी ग्यासमा ६५ अर्ब ५५ करोड रूपैयाँ व्यापार घाटा रहेको छ । नेपालको निर्यात व्यापार २ खर्ब ३० करोड रूपैयाा पुगेको छ । निर्यात व्यापार २०७७/०७८ को तुलनामा २०७८/०७९ मा ४१ दशमलब ७ प्रतिशतले बढेको छ । २०७८/०७९ मा निर्यात भएका वस्तुहरूमा प्रशोधन भटमासको तेल ४५ अर्ब ३५ करोड, प्रशोधन पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोड रूपैयाँको, उनी गलैँचा र कार्पेट ७ अर्ब, तयारी कपडा ५ अर्ब ७६ करोड रूपैयाँ छ ।

यसबाट थाहा हुन्छ कि नेपालको भारतमा निर्यात ज्यादै कम छ र भारतबाट आयात नेपालको आयातको अत्यधिक ६५ प्रतिशत र निकासीमा भारतको हिस्सा करिब ५६ प्रतिशत छ । नेपालको भारतसँग आयात व्यापारमा निर्भरताको बढ्दो प्रवृत्तिले नेपालले भारतमा निकासी बढाउने थप प्राथमिकतातर्फ ध्यान जानु आवश्यक छ ।

नेपालको बर्सेनि बढ्दै गएको भारतसँगको व्यापार घाटालाई कम गर्ने उपायहरू अपनाउन जरुरी छ । नेपालको समुद्रपार देशसँग हुने सबैजसो व्यापार भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम् बन्दरगाहमार्फत नै हुने गरेको छ । नेपालको आयात-निर्यात ढुवानी आयतन विश्लेषण गर्दा नेपाल प्राकृतिक रूपले नदीमार्फत जोडिएको कोलकाता बन्दरगाह नेपालको निर्यात ढुवानीलाई कायमै राख्दै नेपालको आयात ढुवानीका लागि मात्र विशाखापट्टनम् प्रयोगमा ल्याउन भारतसँग अनुरोध गर्नुपर्ने देखिन्छ ।

नेपालको बंलादेशसँगको व्यापारलाई सहजीकरण गरी प्रबद्र्धन गर्न रोहनपुर–सिंहवाद रेल नाकालाई थप पारवहन मार्गका रूपमा सञ्चालनमा ल्याउन नेपाल-भारतबीच हुने एलओई तयार छ भनिएकोे निकै भयो तर यो व्यवहारमा छैन । तर, भारत र बंगलादेशले नेपाललाई यो रेल मार्ग दिने निश्चित गरेका छन् । साथै, नेपालको बंलादेशसँग छुट्टै पारवहन सम्झौता भएको धेरै वर्ष भइसकेको छ तैपनी नेपालको निकासी बढ्न सकेको छैन ।

यसबाट थाहा हुन्छ, नेपालको कुल वैदेशिक व्यापारको ७५ प्रतिशतजति व्यापार भारत र चीनसँग छ र कुल वैदेशिक व्यापार घाटाको ७८ प्रतिशत जति व्यापार घाटा यी २ देशसँग रहेको छ । आ.व. २०१०/०११ मा नेपालबाट भारत र चीनबाहेक तेस्रो देशहरूतर्फ कुल निर्यातको ३२ दशमलब २ प्रतिशत र कुल आयातको २३ दशमलब १ प्रतिशत व्यापार भएको छ । सन् २०१६/०१७ मा नेपालबाट भारत र चीनबाहेक तेस्रो देशहरूतर्फ नेपालको निर्यातको प्रतिशत ४० प्रतिशत र आयातको २१ प्रतिशत रहेको छ ।

व्यापार क्षेत्रलाई उदार, प्रतिस्पर्धी र बजारोन्मुख बनाउने उद्देश्यले समयसमयमा विभीन्न नीतिगत तथा संस्थागत सुधारका प्रयासहरूलाई अघि बढाउँदै लगिएको छ । यस क्रममा नेपालको विश्व व्यापार सङ्गठनमा प्रवेश, साफ्टा र बिमस्टेक जस्ता क्षेत्रीय व्यापार प्रणालीहरूसँगको आबद्धतासमेतले आएको परिवर्तनलाई समेट्न वाणिज्य नीति, २०६५ पछि २०७२ कार्यान्वयनमा आएको छ र रणनीति, २०७३ ले निकासी प्रवद्र्धन गरिआएको छ ।

यससहित प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार संरक्षण, वित्तीय कारोबार, कम्पनी सञ्चालन, भन्सारसँग सम्बन्धित नयाँ ऐन तथा नियमावलीहरू जारी भई कार्यान्वयनमा छन् । २०७३, ०७४ र ०७५ सालमा अनगिन्ती ऐनहरू बने र २०७६ सालमा त नीतिहरू पनि परिमार्जन गरिए । विभिन्न नीतिगत तथा संरचनागत सुधारपश्चात् नेपालको वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यात कम भई हरेक वर्ष व्यापार घाटा बढ्दै गएको र यसले शोधनान्तर स्थितिमा समेत प्रतिकूलता भएको छ ।

प्रतिक्रिया दिनुहोस्