३७ वर्षपछि काठमाडौं छिर्‍यो फिरन्ते फ्यालफ्याले



काठमाडौं । काठमाडौं उपत्यकामा करिब ४ दशकपछि सेतो पङ्खे फ्यालफ्याले (जल पक्षी) फेला परेको छ । नेपालमा विरलै देखिने/भेटिने यो पक्षी भक्तपुरको बोडेस्थित मनोहरा खोला क्षेत्रमा भेटिएको हो ।

प्रायः तराईका भू-भाग (समुद्र सतहको ७५ देखि ९१५ मिटर) हाराहारीमा मात्र विचरण गर्ने सेतो पङ्खे फ्यालफ्याले ३७ वर्षपछि १ हजार ३५० मिटर हाराहारीको उचाइमा देखिएको हो । पक्षी अनुसन्धाताहरू जयनारायण भण्डारी, डा. हेमबहादुर कटुवाल, सोम जीसी, विमल थापा, कमल थापा, युविन श्रेष्ठ र दीपक बुढाथोकीको टोलीले मङ्गलबार अपराह्न यसलाई भेटेका हुन् ।

यो पक्षी यसअघि सन् १९८५ मा काठमाडौं उपत्यकामा देखिएको थियो । नेपालका लागि तत्कालीन बेलायती राजदूत सर एन्थोनी जेराल्ड हुरेलले २६ अप्रिल १९८५ मा सेतो पङ्खे फ्यालफ्यालेको तस्बिर कैद गरेका थिए । सन् १९८३ देखि १९८६ सम्म नेपालमा राजदूत रहेका हुरेलले भक्तपुरमा यो चरा देखेका हुन सक्ने पक्षीविद्हरूको ठहर छ । सन् १९८६ मा बेलायती महारानी एजिजावेथले नेपालको राजकीय भ्रमण गरेकाले हुरेलको कार्यकाल नेपाल-बेलायत सम्बन्ध र कूटनीतिक वृत्तमा स्मरणीय मानिन्छ ।

युरोप र एसियाका अधिकांश देश, अफ्रिका, अस्टे«लियामा फ्यालफ्यालेका धेरै प्रजाति बाक्लै पाइने भएकाले राजदूत हुरेलले काठमाडौं उपत्यकामा देख्दा आश्चर्य मान्दै क्यामेरामा कैद गरेका पक्षी अनुसन्धाताहरूको ठहर छ । सेतो पङ्खे फ्यालफ्याले नेपालमै पहिलो पटक सन् १९८१ मा पोखरामा अभिलेख भएको थियो । ४ मे १९८१ मा निक क्र्याबी नामका एक विदेशीले पोखराको फेवातालमा यो पक्षी भेटेका थिए ।

पछिल्लो पटक ५ वर्षअघि पोखराका पक्षी अनुसन्धाता मनशान्त घिमिरेले फेवातालको सिमसार क्षेत्रमा सेतो पङ्खे फ्यालफ्यालेको तस्बिर कैद गरेका थिए । विज्ञले पक्षीहरूलाई रैथाने, आगन्तुक र बटुवासहित ३ सूचीमा सूचीकृत गरेका छन् । मङ्गलबार भक्तपुरमा देखिएको सेतो पङ्खे फ्यालफ्याले बाटो बिराएर उपत्यका प्रवेश गरेको र यो पक्षी बटुवा सूचीमा सामेल रहेको पक्षीविद् डा. हेमसागर बरालले बताए ।

‘युरोप, एसियाका धेरै देश र अफ्रिकी देशका लागि रैथाने यो पक्षी सामान्यता काठमाडौं उपत्यका जस्तो भू-भागमा पाइँदैन’, उनले भने, ‘सङ्कटको सूचीमा नहेर पनि नेपालका अन्य भेगमा पनि आक्कलझुक्कल मात्र देखिन्छ ।’नेपालमा विभिन्न ९ प्रजातिका फ्यालफ्याले पक्षी अभिलेख छन् ।

सेतो पङ्खे फ्यालफ्यालेसहित गङ्गाचिल ठुँडे फ्यालफ्याले, केकरा फ्यालफ्याले, कुरारी फ्यालफ्याले, वायु फ्यालफ्याले, लघु फ्यालफ्याले, उत्क्रोशी फ्यालफ्याले, ठिमाहा फ्यालफ्याले र ध्वाँसे फ्यालफ्याले पाइएका छन् । ध्वाँसे फ्यालफ्याले ५ वर्षअघि कोसीटप्पु वन्यजन्तु आरक्षमा फेला परेको थियो ।

पक्षी अनुसन्धाताहरू अनिष तिमल्सिना र सञ्जीव आचार्यले ३१ असारदेखि २ साउन २०७४ (१५ देखि १७ जुलाई २०१७)सम्म ध्वाँसे फ्यालफ्याले भेटेका थिए । नेपालमा अभिलेख भएका सबै प्रजाति तराईका भू-भागमा पाइन्छन् । पक्षीविद् बरालका अनुसार फ्यालफ्यालेका अन्य प्रजातिको तुलनामा सेतो पङ्खे र गङ्गाचिल ठुँडे फ्यालफ्याले नेपालमा विरलै देखिने सूचीमा पर्छन् ।

‘कुरारी, उत्क्रोशी र लघु फ्यालफ्यालेले नेपालमा नियमित बच्चा कोरल्ने गरेकाले यी ३ प्रजाति रैथाने सूचीमा छन्, अन्य ७ प्रजातिचाहिँ बटुवा र हिउँदे आगन्तुक हुन्’, उनले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्