बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना जेल चलान



जनकपुरधाम : धनुषामा एक बालिकाको बलात्कारपछि हत्या गर्ने घटनामा दुई जना जेल चलान भएका छन् । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा धनुषाको औरही गाउँपालिका–२ बस्ने ३२ वर्षीय विनोद मुखिया र २३ वर्षीय नथुनी पण्डित जेल चलान भएका हुन् ।

मुद्दाको सुनवाइ गर्दै जिल्ला अदालत धनुषाले मुखिया र पण्डितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश राजेश कटवालको एकल इजलासले सोमबार दुबै आरोपीलाई थुनामा राख्ने आदेश दिएको हो ।

मुखिया र पण्डितमाथि धनुषाको औरही गाउँपालिका–२ देउरी परवाहा बस्ने १० वर्षीया बालिका मनिका यादवको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप छ । मुखिया यसअघिसमेत लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेको व्यक्ति हुन् । 

गाउँमा दसैंको मेला लागेको बेला मुखिया र पण्डितले आफ्नै छिमेकमै बस्ने मनिकालाई चकलेट खान १० रुपैयाँ दिने प्रलोभन दिएर फकाएर लगेका थिए । मेला लागेको स्थानभन्दा केहि पर लगेर रक्सीले मातेका दुबैजनाले मनिकाको पालैपालो बलात्कार गरेर हत्या गरेका थिए ।

प्रहरीले मनिकाको हत्या भएको केहि घण्टापछि मुखियालाई गाउँबाट पक्राउ गरेको थियो भने पण्डित जनकपुरको भ्रमपुरा चोकबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्