सर्वसाधारणले धरहरा चढ्न अझै १ वर्ष कुर्नुपर्ने



  • रमेश पौडेल

काठमाडौं । भूकम्पले १२ वैशाख २०७२ मा भत्काएको धरहरा पुनर्निर्माण गर्न थालिएको लामो समयसम्म पनि सर्वसाधारणका लागि खुला गरिएको छैन। पुनर्निर्माण गरिएको धरहराको उद्घाटन गरिएको पनि करिब २ वर्ष भइसकेको छ।

तर अहिलेसम्म सर्वसाधारणले भने चढ्न पाएका छैनन् । पुनर्निर्माणको काम नसकिएकाले सर्वसाधारणले धरहरा चढ्न नपाएका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेको धरहरा अहिले २२ तले छ।

उक्त धरहराको ११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले धुमधामका साथ उत्घाटन गरे । त्यो उद्घाटन देश तथा विदेशभर चर्चाको विषय पनि बन्यो । तर अहिलेसम्म निर्माणको काम पूरा नभएकाले सर्वसाधारणले धरहरा चढ्न पाएका छैनन् ।

धरहरा पुनर्निर्माण परियोजनाका प्रमुख सञ्जय नकर्मीका अनुसार धरहरा निर्माणको काम अहिलेसम्म ७८ प्रतिशत मात्र सकिएकाले सर्वसाधारणले धरहरा चढ्न नपाएका हुन् । उनी भन्छन्, ‘धरहराको ७८ प्रतिशत कन्ट्रक्सनको र ६८ प्रतिशत फाइनन्सियल काम सकिएको छ, सम्पूर्ण काम पूरा भएपछि आम मानिसले चढ्न पाउँछन्।’

अहिलेसम्म धरहरा पुनर्निर्माणका लागि ४ पटक म्याद थपिएको छ। ४ पटक म्याद थपिँदा पनि धरहरा पूर्ण रूपमा बन्न सकेको छैन। परियोजना प्रमुख नकर्मी सम्झौतामा भएको भन्दा बाहिरको पनि काम भएकाले समयमा सम्पन्न नभएको बताउँछन्।

‘सुन्धारामा पानी ल्याउने र त्यसलाई निकास दिने भनेर सम्झौतामा थिएन तर अहिले त्यो अनिवार्य गर्नुपर्ने भएको छ,’ उनले भने, ‘कोरोना महामारीका कारण हाम्रो काम प्रभावित भयो ।’ विभिन्न समयमा प्रभावित क्षेत्रका जनताले विरोध गरेका कारण पनि निर्माणमा ढिलाइ भएको उनले बताए।
उनले भने, ‘४ रोपनीमा बन्ने भनेको संरचना ४२ रोपनीमा फैलियो, अन्य संरचना खाली गराउन समय लागेको कारणले पनि निर्माणमा ढिलाइ भएको हो।’ बेसमेन्टको र फुटपाथको बाटोको काम लगभग सकिन लागेको परियोजना प्रमुखको भनाइ छ।

मुख्य बाटोमा भने सर्वसाधारणले अवरोध गरेका कारणले त्यहाँ काम हुन नसकेको उनले बताए। आउँदो असार मसान्तसम्ममा रङरोगनबाहेक अन्य काम सकिने आयोजना प्रमुखको भनाइ छ। धरहरा ३ अर्ब ४८ करोडको लागतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माण सम्पन्न गरेको हो।

प्रतिक्रिया दिनुहोस्