सीट बाँडफाँटबारे प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सीट बाँडफाटमा सहमति जुटाउन गठित कार्यदल निश्कर्षमा पुग्न नसकेको बेला नेताद्वयबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। बिहान ९ बजेपछि देउवा र प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ। कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो।

नेपाली कांग्रेसका कतिपय नेताले १०० सीट नछाड्ने अड्डी लिएको बेला देउवाले भने गठबन्धनका दललाई सम्मानजनक सीट दिने बताएका छन्। सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। आजै सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक पनि बस्दैछ।

प्रतिक्रिया दिनुहोस्