देशमा सुशासन कायम नभए मुलुक श्रीलंका बन्छ : वरिष्ठ नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गरेका छन् । आइतबार  नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताएका छन् । उनले देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे ।

वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन नसक्ने बताएका छन् । उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारेका छन् । उनले व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने बताए । संविधानलाई कार्यान्वयनमा ल्याउँदा सबै वर्गको हितको सुरक्षा हुने गरेर ल्याउनुपर्ने पौडेलको भनाई छ ।

नेता पौडेलले निजामती सेवा ऐन चाँडै संसद्‌मा पेस हुने विश्वास समेत व्यक्त गरेका छन् । उनले संघीयतालाई स्वीकारेपछि संघीयतासँग मेल खाने गरेर संगठन र संस्थाहरू सञ्चालित हुनुपर्ने बताएका छन् ।

उनले कर्मचारीको अधिकार, तहगत सुरक्षालाई ध्यानमा राखेर सरकारले चाँडै नै ऐनलाई संसद्‌मा पेस गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले निजामती ऐनलाई चाँडै टुंगो लगाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्