चिनियाँ जनकंग्रेस अध्यक्ष नेपाल आउँदै



काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का वरिष्ठ नेता ली भान्सु आगामी साता नेपाल भ्रमणमा आउँदै छन्। चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली ४ दिने भ्रमणका लागि आगामी सोमबार (२७ भदौ) काठमाडौं आउन लागेका हुन्।

नेपालमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहेका बेला उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा काठमाडौं आउने कार्यतालिका तय भएको हो। सापकोटाले गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा उनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

२७ भदौमा काठमाडौं आउने ली नेतृत्वको चिनियाँ टोलीले सोही दिन सभामुख सापकोटासँग भेटवार्ता गर्ने छ। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने लीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ।

उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्दै छन् । नेपालले अमेरिकी सहायता सम्झौता (एमसीसी) स्वीकार गरेपछि असन्तुष्ट रहेको चीन ‘नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम’(एसपीपी)मा सहभागी नहुने सरकारको औपचारिक निर्णयपछि नेपाल नीतिमा लचक बनेको छ । एमसीसी अनुमोदन गर्न अनुमोदन गर्न अमेरिकाले नेपाललाई दबाब दिएको चीनको आरोप छ।

नेपाली सेना र अमेरिकी सेनासँग सम्बन्धित भनिएको एसपीपीमा सहभागी नहुने निर्णयको स्वागत गर्दै चीनले नेपालमा उच्चस्तरीय भ्रमणलाई प्राथमिकता दिएको छ। जनकंग्रेसका अध्यक्ष लीको नेपाल आगमन २ महिनाको अन्तरमा तय भएको चिनियाँ दोस्रो उच्चस्तरीय भ्रमण हो।

यसअघि गत २६ असारमा सीसीपीका विदेश विभाग प्रमुख लिउ ज्यान्चाओ ४ दिने नेपाल भ्रमणमा आएका थिए । रुसको भ्रमणपश्चात् ली काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। विदेश विभाग प्रमुख लिउले पनि राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरूसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्