क्यासिनोलाई कर तिर्न महानगरको अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ वर्षदेखि कर तिर्न अटेर गर्दै आएका काठमाडौंका ७ वटा क्यासिनोलाई कर बुझाउन ७ दिने अल्टिमेटम दिएको छ। मनोरञ्जन कर नतिर्ने क्यासिनो व्यवसायीलाई महानगरपालिकाले आइतबार पत्राचार गरी कर तिर्न ७ दिने अल्टिमेटम दिएको हो।

विभिन्न क्यासिनो व्यवसायीले करिब ४ वर्षदेखि कर नतिरेको महानगरको राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए। बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर तिर्न पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूले महानगरलाई अटेर गरेको उनले जानकारी दिए।

डा. अधिकारीका अनुसार महानगरपालिकाले होटल म्यारियटको डेल्टीन क्यासिनो, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसनको क्यासिनो र्‍याड, हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोले २०७५ सालदेखिको मनोरञ्जन कर तिर्न बाँकी छ।

महानगरले प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिमानासहित ७ दिनभित्र कर चुक्ता गर्न पत्राचार गरेको उनले बताए। विभाग प्रमुख डा. अधिकारीले महानगरको राजश्व ऐन अनुसार कर नतिर्ने व्यवसायीलाई जरिमानासहित कारबाही हुनेछ।

डा. अधिकारीका अनुसार क्यासिनोहरूले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ। बागमती प्रदेशको आर्थिक ऐन अनुसार उठेको राजस्वको ६० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेशमा दाखिला गर्नुपर्छ ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले महानगरले क्यासिनो व्यवसायीलाई कर तिर्न दिएको ७ दिने अल्टिमेटम स्वागतयोग्य भएको बताइन् । देशको कानुन सबैले मान्नुपर्छ । कर तिर्नु व्यावसायीको दायित्व हो,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्