गठबन्धनमा भागवण्डा किचलो, असमझदारी र अन्यौलमै बित्यो महिना



काठमाडौं । गत २० साउनमा बसेको सत्तारुढ पाँच दलको बैठकले आगामी ४ मंसिरमा हुुने प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गरेर जाने निर्णय गर्‍योे । सोही निर्णय अनुसार सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको मोडालिटी तयार गर्न कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गर्‍यो ।

शीर्ष नेताहरुले कार्यदललाई साउन मसान्तसम्ममा भागबण्डाको मोडालिटी बनाउने जिम्मेवारी दिएका थिए । तर, कार्यदल गठन भएको महिना दिन पुग्दासम्म पनि सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा मिल्न सकेको छैन।

सोमबार (आज) सत्तागठबन्धनले आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको ठ्याक्कै एक महिना भएको छ। कार्यदलले २२ साउनमा पहिलो बैठक बसेर भागबण्डाको मोडालिटी बनाउने प्रयास गरेको छ।

त्यसयता भागबण्डा मिलाउन कार्यदलको मात्रै हैन, शीर्ष नेताहरुको बैठक औपचारिक/अनौपचारिक रुपमा दर्जनौँ पटक बसिसक्यो। यद्यपी, अहिलेसम्म दलहरुबीच कुनै सहमति जुट्न सकेको छैन। पटकपटक बसेको बैठक असमझदारी र दलहरुको आ-आफ्नो दाबी राख्दै निष्कर्षविना टुङ्गिँदै आएको छ।

कार्यदललाई भागबन्डाको मोडालिटी तयार गर्ने जिम्मेवारी दिएपनि पूरा गर्न नसकेपछि गठबन्धन दलका शीर्ष नेताहरुले सिट बाँडफाँट मिलाउन प्रयास गर्दै आएका छन्। एक महिना यता कार्यदल र गठबन्धनका शीर्ष नेताहरु अन्य काम छाडेर पनि भागबन्डा मिलाउने प्रयासमा प्रधानमन्बी निवास बालुवाटार केन्द्रित छलफल गरिरहेका छन् ।

यद्यपी कार्यदलदेखि शीर्ष नेताहरुको बैठकमा पनि दलहरुले आफ्नो अडान नछाडेपछि सत्ता गठबन्धनलाई थप सकस हुँदै आएको छ।

एक महिना लगानी, बालुवामा पानी

कार्यदलले सकसपूर्ण तरिकाले पटकपटकको बैठक र शीर्ष नेताहरुको दवावका बीच एक महिना लगाएर सिट बाँडफाँटको तयारी गर्‍यो। तर, कार्यदलले एक महिनाको लामो समय लगाएर बनाएको सिट बाँडफाँटको मस्यौदा शीर्ष नेताहरुलाई पेस नगर्दै तुहिएको छ।

कार्यदलले एक महिना लगाएर तयार पारेको मस्यौदा आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई पेस गर्ने तयारी थियो। सोही तयारी अनुसार आइतबार वालुवाटारमा कार्यदलका सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो। तर, औपचारिक रुपमा कार्यदलले तयार पारेको मस्यौदा औपचारिक रुपमा शीर्ष नेताहरु समक्ष पेस हुन सकेन।

‘हामीले तयार गरेको मस्यौदा पेश भएन। मस्यौदाका खाका सुनाउने बित्तिकै शीर्ष नेताहरुबीच असहमति भएपछि भदौ २० र २१ गते छलफल गरेर पुनः अर्काे मस्यौदा तयार गर्ने गरी आजको बैठक टुङ्गियो’, राजमोका सचिव एवं कार्यदलका सदस्य हिमलाल पुरीले द नेपालटपसँग भने।

आइतबार पेश गर्ने गरी कार्यदलले तयार पारेको प्रस्तावित मस्यौदानुसार नेपाली कांग्रेसलाई लोसपासहित ९० सीट, माओवादीलाई नेसपा, महिन्द्रराय यादव र वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट दिने खाका बनाइएको थियो। तर, यो खाका बनाउन कार्यदलले खर्चिएको एक महिना समय ‘वालुवामा पानी’ जस्तै भएको छ।

कार्यदलका संयोजक सिटौलाले प्रस्तावित मस्यौदा शीर्ष नेताहरुलाई पढेर सुनाएका थिए। तर, उनले पेश गरेको मस्यौदामा कांग्रेसको शेखर कोइराला पक्षका नेताहरु, माओवादी र नेकपा एसका शीर्ष नेताहरुले असहमति जनाएको कार्यदलका एक सदस्य बताउँछन्।

कांग्रेसका सभापति शेरबहादुर देउवासहित उनका पक्षका नेताहरु भने कार्यदलले ल्याएको मस्यौदामा लचक देखिएको स्रोत बताउँछ। ‘कांग्रेसमा देउवा पक्ष ९० सिट पाए हुन्छ भनेका छन्।

कोइराला पक्षले १०० सिट नछाड्ने भन्छन्। माओवादीका नेताहरु कांग्रेस र अरु दललाई आधा–आधा गर्ने भनेका छन्। एकीकृत समाजवादीका नेताहरु कांग्रेसलाई बढिमा ७० सिट मात्रै दिन सकिने भन्छन्। त्यसैले हामीले बनाएको प्रस्तावित मस्यौदा औपचारिक रुपमा पेस भएन’, कार्यदलका एक सदस्य भन्छन्।

सत्ता गठबन्धन इतरका दल र तीनका शीर्ष नेताहरु निर्वाचन घोषणा भएलगत्तै चुनावी अभियानको दौडाहमा छन्। तर, सत्ता गठबन्धनका शीर्ष नेताहरु भने भागबण्डा मिलाउन वालुवाटार आउजाउमा व्यस्त छन्। निर्वाचनको तयारीलाई समय कम गर्दै भागबण्डा मिलाउन वालुवाटारमा आउजाउ गर्न थालेको महिना दिनको उपलब्धि भने ‘हात लाग्यो शून्य’ भनेजस्तै भएको छ।

यद्यपी सरकारका प्रवक्ता तथा कार्यदलका सदस्य सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भने अब २ दिनभित्रै भागबण्डा मिलाउने दाबी गर्छन्। ‘अब दुई दिन पर्खिनुस्। कार्यदलले लगातार बैठक बसेर सबैका लागि न्यायोचित, सम्मानजनक तरिकाले सहमतिमा निर्णय लिन्छ र शीर्ष तहमा पेस गर्छ।’

प्रतिक्रिया दिनुहोस्