गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै



काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ। गठबन्धन कार्यदलको बैठक दिउँसो १ बजे बस्न लागेको हो।

कार्यदललाई लगातार बैठक बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउन आइतबार बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक निर्देशनसमेत दिएको छ। आइतबार सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठक बसेपनि ठोस निष्कर्ष भने निस्कन सकेन।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनभित्र टुंगो लाग्ने गरी छलफल अगाडि बढेको जानकारी दिए। सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र विन विन हुनेगरी निर्णय लिइने उनको भनाइ छ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँड संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल भइरहेको नेताहरुले बताएका छन्। कार्यदलमा सहमति गरेर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी छ।

पछिल्ला केही दिनदेखि सिट बाँडफाँट टुंगो लगाउन निरन्तर कार्यदल क्रियाशील रहे पनि सिट संख्यामा दलहरुको आ–आफ्नै दाबी रहेपछि गठबन्धनको गाँठो फुक्न सकिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्