दक्षिणपश्चिम चीनमा ६.६ म्याग्निच्युडको भूकम्प



एजेन्सी । दक्षिणपश्चिम चीनमा सोमबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । एएफपी समाचार एजेन्सीले अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) लाई उद्धृत गर्दै भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको बताएको छ ।

तर, अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । एक स्थानीय बासिन्दाले एएफपीलाई चेङ्दु सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताए ।

यस वर्षको जुनमा दक्षिणपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । त्यतिबेला चेङ्दु सहरबाट १०० किलोमिटर पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्