छोनाम पर्व : फेरिएको स्वाद, फेरिएको शैली



  • शिवकुमार काशी

काठमाडौं । जङ्गलको कुनामा र खोलाका छेउछाउमा स–साना झुप्रा बनाएर स्थायी बसोबास गर्ने गरेका चेपाङ समुदायको सर्वस्व नै प्रकृति हो । आगो, पानी, जङ्गल र भूमि यिनीहरूका देउता हुन् । जसले खाने, लाउने र टेक्ने ठाउँ दिएको छ, उसैलाई देउता नमानुन् पनि कसरी ?

चेपाङ बस्तीका अगुवा वा सर्वमान्य व्यक्तिका रूपमा रहने पाण्दे (झाँक्री)हरूकै ज्ञान, निर्देश, सहजीकरण र संरक्षणमा चेपाङ समुदायको रीति, संस्कृति, परम्परा र जातीय पहिचान पुस्ता हस्तान्तरण हुँदै आएको विगत छ ।

चेपाङ समुदायमा पाण्देहरूको अग्रसरतामा मनाइने छोनाम पर्व (न्वागी) हिन्दुहरूले मान्ने दसैँ-तिहारझैँ महत्वपुर्ण छ । आजभन्दा २ दशकअघिको कुरा सम्झने मात्र हो भने न्वागी पर्वमा औपचारिकता अत्यन्तै कम, मौलिकता सबैभन्दा बढी थियो । मौलिक पहिचानसहित रातभर एकपाखे ढ्याङ्ग्रो ठोकेर पाण्देहरूले न्वागी फलाक्थे ।

बिहानपख भएपछि भदौमा उत्पादित अन्न, फलफूल, घैयाको चामल आफ्ना पितृलाई र प्रकृतिलाई चढाउँथे । त्यसपछि मात्र चेपाङ समुदायमा नयाँ उत्पादित अन्नको उपभोग अधिकार खुल्थ्यो । न्वागीअघि अन्न खाने चलन चेपाङ समुदायमा छैन, खाएमा रोग–व्याधी लाग्ने, पितृले दुःख दिने भन्ने मान्यता थियो र छ । न्वागी पर्व हरेक वर्ष भदौ महिनाको शुक्ल पूर्णिमामा पर्ने भए पनि नेपाल चेपाङ सङ्घले २२ भदौलाई न्वागी पर्वकै रूपमा घोषणा गरेको छ ।

न्वागी पर्वको धार्मिक, सांस्कृतिक पक्ष र प्रकृति तथा पितृ प्रेमका अनेक सुन्दर पक्षहरू हुँदाहुँदै पनि पछिल्लो समय परसंस्कृति ग्रहण र बदलिँदो बजारीकरणले न्वागी पर्व नै विक्षिप्त छ । अहिलेकै पारामा जाने हो भने न्वागी पूर्ण रूपमा औपचारिक कार्यक्रममा सीमित हुने निश्चित छ भन्दा फरक नपर्ला ।

अहिले मौलिकतामा आधारित न्वागी पर्वहरू गाउँ समाजमा देखिन छाडेका छन् भने आधुनिक औपचारिकतामा सीमित न्वागी पर्वहरूको हल्लामा चेपाङ समुदाय अलमल्ल र मख्ख छ ।

के हो न्वागी ? किन मनाइन्छ ?

मकवानपुरको मनहरी गाउँपालिका ७ प्याङ्चे निवासी चेपाङ पाण्दे (चेपाङ झाँक्री, अगुवा) मानबहादुर प्रजा (चेपाङ)का अनुसार चेपाङ जाति मूलतः प्रकृति पुजक हुन् । चेपाङ समुदायले प्रकृतिलाई श्रद्धासहित पूजा गरेर प्रकृतिमै उत्पादित चीज वस्तुको उपभोगका लागि अनुमति लिने दिनका रूपमा न्वागी पर्वको चलन रहिआएको छ ।

चेपाङ समुदायका मानिसहरूले प्रकृति पूजा, भूमि पूजा, वन पूजा गर्छन् । भदौ महिनामा मकै, घैयालगायतका उपजहरूको उत्पादन हुने भएकाले न्वागीका बेला त्यस्ता अन्न उपजहरू पहिला आफ्ना दिवङ्गत पितृलाई चढाउने र त्यसपछि मात्र आफूले खाने अनुमति प्राप्त गर्ने चाड न्वागी हो ।

न्वागीको अघिल्लो रात २१ भदौ साँझदेखि नै चेपाङ पाण्देहरूको घरमा पूजा सामग्रीहरूसहित विधिपूर्वक पूजाआजा हुने गर्छ । बिहानपख कुखुराको बलि दिएर पाण्देहरूले पितृहरूलाई नयाँ उत्पादित अन्न, फलफूल, पिँडालु, निबुवा जस्ता चीज वस्तुहरू चढाउँछन् । किम्वदन्तीअनुसार दोबाटोमा लगेर चढाइएका ती फलफूल, चामल, निबुवा र पिँडालु खान बाघको रूप धारण गरेर पितृहरू आउँछन् ।

न्वागीका दिन रातभर एकातर्फ विधिपूर्वक पूजा चल्छ भने अर्काेतर्फ मौलिक लयमा आधारित गीत, सङ्गीत र झ्याउरे भाका घन्किने गर्छन् । न्वागी मान्न र मनाउन पाण्देहरूका घरमा आफन्तजन, छोरी-चेलीहरूको आगमन हुने गर्छ । उनीहरूले ल्याएका कोसेली, सगुन, फलफूल पनि न्वागी पूजासँगै पितृलाई चढाउने गरिन्छ ।

यसरी उत्पादित चामल, निबुवा, पिँडालु आदि पितृलाई नचढाई खाएमा रोग-व्याधीले समाउने, मानिसहरू बिरामी पर्ने, पितृको आत्माले पिर्ने भन्ने मान्यता चेपाङ समुदायमा छ । न्वागीका दिन बाख्राको छालाबाट निर्मित एकपाखे ढ्याङ्ग्रो ठोकेर पाण्देहरू रातभर काँप्छन् । संयोग यस्तो पनि हुन्छ कि पाण्देले ढ्याङ्ग्रो ठोक्दै काँपेको खिसिटिउरी गर्नेहरूलाई पनि ढ्याङ्ग्रो ठोक्न लगाएर काँप्ने बनाइदिने क्षमता पाण्देहरूले राख्छन् । पछिल्ला पुस्ताका युवाहरूलाई पाण्देहरूले ढ्याङ्ग्रो ठोकेर काँपेको काँप्यै बनाइदिएका दृष्टान्तहरू नभएका होइनन् ।

धर्म परिवर्तनको चपेटामा न्वागी

मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहुँ र लमजुङमा बसोबास रहेको चेपाङ जाति धार्मिक र सांस्कृति अतिक्रमणको चपेटामा छ । त्यसो त मुस्किलले १ लाखको हाराहारीमा जनसङ्ख्या पुगेको चेपाङ सङ्ख्यात्मक रूपमा पनि बढेको छैन । चेपाङकै पुस्तालाई अर्काे जात ‘बनकरिया’ बनाइएको प्रति चेपाङ समुदायको सदैव गुनासो छ ।

उल्लेखित जिल्लाहरूका बिकट गाउँघरहरू यतिखेर धर्म परिवर्तनको चपेटामा छन् । खासगरी गरिब र विपन्न समुदायको बसोबास रहेका ती गाउँघरहरूलाई पायक पर्ने गरी यतिखेर बलिया र कामचलाउ खालका चर्चहरू भेटिन्छन् ।

हरेक साताको शनिबार बिहानैदेखि चर्चमा बाइबलको बचन सुन्ने, व्याख्या गर्ने काम चेपाङ अगुवाहरूले गरिरहेका छन् । अधिकांश चेपाङ समुदायका मानिसहरूले क्रिश्चियन धर्म अपनाएर विश्वासी बनेको वर्तमान अवस्था छ । स्वाभाविक रूपमा क्रिश्चियन धर्म मान्नेहरू मूर्ति पूजा गर्दैनन् र बलिका विरोधी हुन्छन् । तर, चेपाङ समुदाय बलिप्रथासँग प्रत्यक्ष जोडिएको समुदाय हो । न्वागी पूजा होस् वा भूमि पूजामा बलि दिइन्छ ।

त्यसो त वन पूजामा समेत चेपाङ पाण्देहरूले कुखुरा, बाख्रा, बोकाको बलिलाई प्राथमिकतामा राखेका हुन्छन् । चेपाङ पाण्देहरू आफैँ कतिपय हिन्दु धर्म मान्ने देवी–देवताका मन्दिरहरूमा पुजारी बनेका छन् । मकवानपुरको नामटार, कालिकाटार, सरिखेतलगायत स्थानहरूमा रहेका कालिकादेवीका मन्दिरमा चेपाङ पुजारी रहने गरेका छन् । यी मन्दिरहरूमा वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीकै दिन कुखुरा र पाठीको बलि दिने प्रथा कायमै छ ।

अहिले गाउँगाउँमा चर्चहरू निर्माण भई धर्म परिवर्तन भइसकेपछि न त गाउँमा पाण्देहरूको उत्पादन हुन सकेको छ, न त न्वागीको सौन्दर्य भेटिन्छन् । छोनाम पर्वका दिन गाइने झ्याउरे भाकाका गीतहरू पनि हराएका छन् भने चेपाङले गाउने विरहका पुराना भाकाका गीतहरू अहिले गाउन छाडिएको छ ।

गाउँभरि चर्च, पास्टर, एल्डर र विश्वासीहरू मात्र भएपछि पुरातन बलिप्रथामा आधारित न्वागी पूजा लोप हुँदै गएको छ भने यसलाई औपचारिकता र प्रचारबाजीमा सीमित गर्न खोजिएको अवस्था छ ।

हराएको न्वागी, फेरिएको तरिका

२२ भदौ २०७८ को न्वागी पर्व चेपाङ समुदायले चेपाङ उद्गम मानिएको राक्सिराङ गाउँपालिका-५ स्थित पालिका केन्द्र चैनपुरमा आयोजना भयो । नेपाल चेपाङ सङ्घको आह्वानमा भएको पर्वबारे अनेक टीका टिप्पणीहरू भए । त्यसको एउटा कारण थियो-मौलिकताको अवमूल्यन ।

कार्यक्रममा प्रमुख अतिथि बनेर गैरचेपाङ जातिका सांसद सहभागी थिए भने स्टेज निर्माण गरेर विभिन्न बजारिया गीतहरूमा नृत्य गराइएको थियो । धार्मिक विधिबमोजिमको न्वागी र पूजापाठको चाँजोपाँजो मिलाइएको थिएन ।

ठूला साउण्ड सिस्टम र झकिझकाउ स्टेजमा कलाकारहरू नाच्दै मात्र थिएनन्, चेपाङ कथामा आधारित चलचित्रको समेत त्यही मञ्चमा छायाङ्कन हुँदै थियो । कार्यक्रममा सहभागीहरू अधिकांश भाषण भूषणले गर्दा वाक्कदिक्क भएका थिए ।
यो घटना गत वर्षको मात्र होइन, केही वर्षयताको निरन्तरता हो । पछिल्लो समय नेपाल चेपाङ सङ्घले न्वागीलाई संस्थागत रूपमा मनाउने भन्दै त्यस्तै ‘स्टेजवाला’ कार्यक्रमहरूको आयोजना गरिरहेको छ । त्यस्ता औपचारिक कार्यक्रमहरूले न्वागी पर्वबारे हल्लाखल्ला त बेजोडले गरिदिएका छन् तर मौलिकता र विधिअनुसार पाण्देका घरमा आयोजना हुने न्वागी पर्वचाहिँ पूर्ण रूपमा ओझेलमा पारिएका छन् ।

एकाध गाउँमा पाण्देहरूले एकल रूपमा विधिबमोजिम न्वागी मनाएका खबरहरू सार्वजनिक हुने गरेका छन् । त्यो मौलिकता जोगाउनका लागि सरोकारवालालाई यतिखेर हम्मेहम्मे परेको छ ।

कतिको सम्भव छ ज्ञान र संस्कृतिको पुस्तान्तरण ?

मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँघरमा ज्ञानगुनका थुप्रै कुराहरू रहेकाले त्यसलाई पुस्तान्तरण गर्न आवश्यक ठानेका छन् । तर, त्यसको मेलोमेसो फेला पार्न सकेका छैनन् ।

‘चेपाङ पाण्देहरू एकदमै जान्ने र आफ्नो विद्यामा निपुण हुन्छन्’, अध्यक्ष मल्लको भनाइ छ, ‘तन्त्रमन्त्र गरेर हँसियाले काटेको ठूलो घाउबाट बगिरहेको रगत नै रोक्ने क्षमता उनीहरूले देखाएका छन् भने बगेको रगतमा झिँगा आउनै नदिने पनि बनाउन सक्छन् ।’

यस्तो विद्यालाई लिखित वा दृश्यमा उतारेर ती बूढापाका मान्छेहरूबाट छोरा-नाति पुस्तामा हस्तान्तरण गर्न सके पक्कै पनि संस्कृतिको जगेर्नाका लागि ठोस काम हुने अध्यक्ष मल्लले सोचेका छन् । तर, त्यो कसरी सम्भव छ भन्नेबारे अझै प्रष्ट सोच आइसकेको छैन ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका तथा चितवनका केही चेपाङ बस्तीहरूमा अहिले पनि बूढा र पुराना पाण्देहरू छन् । यी पाण्देहरूलाई सपनामा नै विद्या प्राप्त हुने गर्छ भन्ने दाबी गरिन्छ । सपनामा गुरुले सिकाएको विद्यालाई उनीहरूले तन्त्रमन्त्र प्रयोग गरी चेपाङ र गैरचेपाङको समेत औषधोपचार गरिरहेका हुन्छन् ।

गाउँघरमा सुनिएअनुसार चेपाङ पाण्देहरूसँग यति धेरै विद्या छ कि उनीहरू मानिसहरूलाई ठाउँका ठाउँ उठिरहन वा बसिरहन बाध्य पार्न सक्छन् ।

बिदामै खुसियाली !

लामो समयदेखि चेपाङ समुदायले आफ्नो पर्वका दिन बिदा माग गर्दै आइरहेको छ । सङ्घीय, प्रादेशिक र स्थानीय रूपमा बिदाको आवाज उठ्दै आए पनि यस वर्ष पहिलो पटक चेपाङ बाहुल्य रहेको क्षेत्रमा न्वागी पर्वका दिन बिदा दिइएको छ ।

बाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २२ भदौका दिनलाई मकवानपुर, चितवन र धादिङ जिल्लामा बिदा घोषणा गरेको छ । यो घोषणाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारअन्तर्गतका सबै निकायहरूमा बिदा हुनेछ । यस बिदाले चेपाङ सङ्घ, चेपाङ अगुवाहरूलाई निकै खुसी दिलाएको छ । यस वर्ष मुख्यमन्त्रीकै उपस्थितमा चितवनमा न्वागी समारोह आयोजनासमेत हुने बताइन्छ ।

चेपाङ समुदायकै तर्फबाट बाग्मती प्रदेशमा राज्यमन्त्री सन्तबहादुर प्रजा सहभागी छन् । त्यसो त यसअघि २०६४ सालको संविधानसभामा मकवानपुरकै गोविन्दराम चेपाङ र गोरखाकी माया चेपाङ सभासद् भएका थिए । २०७४ सालको चुनावमा बाग्मती प्रदेशमा समानुपातिकतर्फ सन्तबहादुर चेपाङ सांसद रही हाल भौतिक पूर्वाधार विकासमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्