सप्तरीमा ३ पार्टीका अध्यक्ष एउटै क्षेत्रबाट सिफारिस



  • मनोज माझी

सप्तरी । सप्तरीबाट मधेस केन्द्रित दलका प्रायः सबैजसो प्रमुख नेताहरूलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको छ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई जिल्लाका ४ वटै प्रतिनिधिसभा क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गरिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम क्षेत्र नं.– २ बाट सिफारिस गरिएको छ।

लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतो क्षेत्र नं.–३ बाट सिफारिस भएका छन् । जनमत पार्टीले यसअघि नै अध्यक्ष डा. सीके राउतलाई क्षेत्र नं.– २ बाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। यसरी मधेस केन्द्रित दलका सबैजसो प्रमुख नेताहरू यसै जिल्लाबाट सिफारिसमा परेपछि राजनीतिक तरङ्ग ल्याएको छ।

मधेस केन्द्रित दल भनिएका जसपाका अध्यक्ष यादव, लोसपाका अध्यक्ष ठाकुर र जनमतका अध्यक्ष डा. राउत एउटै क्षेत्र (क्षेत्र नं.–२ )बाट सिफारिसमा परेपछि झन चुनावी माहोल तताएको छ। मधेस केन्द्रित दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो भने क्षेत्र नं.–३ बाट सिफारिसमा परेका छन् ।

यसअघि क्षेत्र नं.–२ बाट चुनाव जितेका जसपाका अध्यक्ष यादवको नाम जिल्लाका ४ वटै क्षेत्रबाट सिफारिस गरिए पनि उनी क्षेत्र नं.–२ बाटै चुनाव लड्ने बलियो सम्भावना रहेको जसपाका जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन्। सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका जनमत पार्टीका अध्यक्ष डा. राउत अहिले घरदैलो र चुनावी सभामा व्यस्त भएका छन्।

१ महिनायता आफ्नो क्षेत्रमा आधा दर्जन चुनावी सभा गरिसकेका उनले यसपटक उक्त क्षेत्रमा जनमतले पकड बनाउने दाबी गर्दै आएका छन्। यता, आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन तथा सिफारिस गर्ने क्रम धमाधम चलिरहेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीले पनि प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम सिफारिस गरिसके पनि गठबन्धनभित्र चुनावी तालमेलको प्रयास चलिरहेको भन्दै आधिकारिक नाम सार्वजनिक गरेका छैनन् ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि जिल्लाका सबै क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली तयार गरी सिफारिस गरिसकेको जनाउँदै सोबारे आधिकारिक जानकारी केही दिनभित्रै गराइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्