उपत्यकामा पहिलो पटक देखियो ‘ठूलो कस्दरी’



काठमाडौं । नेपालमा विरलै देखिने÷भेटिने ‘ठूलो कस्दरी’ नामक जलपक्षी पहिलो पटक काठमाडौं उपत्यकामा फेला परेको छ। तराईमा फाट्टफुट्ट देखिने यो पक्षी भक्तपुरको मनोहरामा देखिएको हो।

पक्षी अनुसन्धाताहरू सञ्जय था श्रेष्ठ, युविन श्रेष्ठ र दीपक बुढाथोकीले बुधबार अपराह्न मध्यपुर थिमि– ८ बोडेमा ठूलो कस्दरी भेटेका हुन् । कोसीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र, नेपालगन्जमा आक्कलझुक्कल देखिएको ठूलो कस्दरी नेपालको भूगोलमा १० पटकभन्दा बढी अभिलेख नभएको पक्षी हो। विगतका अनुसन्धान र सूची परीक्षण गर्दा यो पक्षी उपत्यकामा पहिलोपटक देखिएको पक्षी अनुसन्धाता श्रेष्ठले बताए।

‘विगतमा तराईमा मात्रै देखिएको पक्षी समुद्री सतहबाट १ हजार ३६० मिटर हाराहारीको उचाइमा भेटिएकाले पक्षीबारे चासो राख्नेहरूलाई अनुसन्धान गर्ने प्रमाण भेटिएको छ’, उनले भने । नेपालमा यो पक्षी पहिलो पटक सन् १९३८को फेब्रुअरी महिनामा फ्रान्क यम वेली नाम गरेका विदेशी नागरिकले मोरङमा फेला पारेका थिए।

जिल्ला प्रष्ट भए पनि मोरङको स्थानीय ठाउँबारे पक्षीविद्हरू प्रष्ट छैनन् । सिमसार र जलाधार क्षेत्र आसपासका घाँसे मैदान, धान खेती हुने क्षेत्रमा विचरण गर्ने ठूलो कस्दरी नेपाल, भारत, पाकिस्तान, श्रीलंकासहितका एसियाली देशमा पाइएको छ।

यी देशमा यो पक्षीको सङ्ख्या के कति छ भन्ने यकिन नभए पनि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले ठूलो कस्दरीलाई सङकटापन्न पक्षीहरूको रातो सूचीमा सूचीकृत गरेको छ । नेपालमा अभिलेख भएका ८९० थरी पक्षीको सूचीमा ठूलो कस्दरी विरलै भेटिने फिरन्ते सूचीमा छ । अनुसन्धाताले पक्षीलाई रैथाने, नियमित आगन्तुक, बटुवा र फिरन्ते प्रजातिमा सूचीकृत गरेका छन्।

यसअघि गत ४ असारमा नवलपुरको कावासोती–३ स्थित ज्योतिकुञ्ज सामुदायिक वन क्षेत्रमा ठूलो कस्दरी फेला परेको थियो। अहिले ठूलो कस्दरी भेटिएसँगै मनोहरामा २४२ प्रजातिका पक्षी अभिलेख भएका छन् । यो सङ्ख्या पाहुना र रैथाने प्रजातिको हो।

यसअघि यही ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले नामक जलपक्षी फेला परेको थियो । सेतो पङ्खे फ्यालफ्याले ३७ वर्षपछि काठमाडौं उपत्यकामा देखिएको नेपाली पक्षी संरक्षण सङ्घ (बीसीएन) लगायत सङ्घ–संस्थाले पुष्टि गरेका छन्।

त्यसैगरी १३ असारमा तराईको रैथाने भद्राई मनोहरामा भेटिएको थियो। काठमाडौं उपत्यकामा पक्षीका धेरै प्रजाति ललितपुरको गोदावरी–फूलचोकी क्षेत्रमा अभिलेख भएका छन् । यो क्षेत्रमा ३५९ थरी पक्षी पाइएको बीसीएनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्