घोषणा पत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान दिन्नौं : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं आगामी चुनावका लागि घोषणा पत्र तयार समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीको घोषणा पत्रमा भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहने बताएका छन्।

बिपीको १०९ औं जन्मजयन्तीमा आज सुन्दरीजल पुगेर महामन्त्री शर्माले कांग्रेसको घोषणा पत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नदिइने पनि बताए।

‘अब हामी घोषणा पत्र लेखन सुरू गर्नेछौं। कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान हुनेछैन,’ उनले भने, ‘जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहनेछ।’

गरिब जनताको भावना समेट्ने गरी घोषणा पत्र बनाउने पनि उनले बताएका छन्। ‘कहिलेसम्म शिक्षाबाट नागरिक बञ्चित हुने, उच्च शिक्षा लिएर पनि कहिलेसम्म बेरोजगार रहने ?,’ उनले भने, ‘यसका विकल्प के र कसरी दिने त ? घोषणा पत्र त्यसमा केन्द्रित रहन्छ ।’कांग्रेसको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने संकल्पसहित घोषणा पत्र तयार पारिने उनले बताए ।

‘स्थापनाकालमा बिपीले लेख्नुभएको दस्तावेज, २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजको गहिरो अध्ययन गरी अबको घोषणापत्र निर्माण गरिनेछ,’ उनले भने, ‘यो अवधिमा हाम्रा कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा हामी व्यवहारिक घोषणापत्र निर्माण गर्नेछौं ।

बिपीले परिकल्पना गरेको नेपाल र अहिलेका नेपाली युवाको भावनालाई एकाकार गरेर देशका सपनालाई समेट्ने गरी घोषणा पत्र बन्ने पनि शर्मा बताउँछन् । ‘नेपाल बाहिर रहेका नेपालीलाई पनि समेट्छौं,’ उनले भने।

भारत र चीनजस्ता छिमेकीका आर्थिक गति सँगसँगै अघि बढ्ने गरी दृष्टि, संकल्प र सुस्पष्ट योजना पनि बनाइने उनले बताए।मेरा लागि तर समग्रमा देशका लागिझ भन्ने युवा भावनाको लहर घोषणा पत्रको अन्तर्वस्तुमा समाहित गर्ने पनि महामन्त्री शर्माले बताए ।

सुन्दरीजलमा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार पनि उपस्थित थिए। उनीहरूले बिपीलगायतका सालिकमा माल्यार्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्