कर्णालीमा ४० प्रतिशत दरबन्दी रिक्त



सुर्खेत । कर्णालीमा मन्त्रालय र मातहतका कार्यालयमा अहिले पनि झन्डै ४० प्रतिशत कर्मचारी अपुग छन्। तर, स्वीकृत दरबन्दीअनुसार कर्मचारीको पदपूर्तिका लागि भने कमै माग गरिएको छ। प्रदेशमा २ हजार ८६२ स्वीकृत दरबन्दीमध्ये एक हजार ७२२ जनाको मात्रै पदपूर्ति भएको छ । अहिले पनि एक हजार १४० पद रिक्त छन्।

आयोगका अनुसार हाल प्रदेश मातहतमा सातौँ र आठौँ तहका गरी ३४३ जना कर्मचारी माग गरिएको छ । लोकसेवा आयोगमा कर्णाली प्रदेशअन्तर्गत सातौँ तहका लागि २९२ पदको विवरण पेस भएको छ । आठौँ तह मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, डेन्टल सर्जन गरी ५१ जनाको विवरण प्रदेशले आयोगमा पेस गरेको हो ।

प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्षपछि आयोगले दरबन्दी सिफारिसको काम अघि बढाएको छ । आयोगले पहिलो पटक पाँचौँ तहको तथ्यांक सहायक पदको अन्तर्वार्ता गर्न लागेको छ । केही दिनमा अन्तर्वार्ता सकेर कर्मचारी सिफारिस गर्ने तयारी आयोगको छ । प्रदेश निजामती ऐन पारित नहुँदा भने कतिपय काम प्रभावित भएको जनाइएको छ ।

पदपूर्ति, सरुवा, बढुवाजस्ता काम रोकिएका छन् । हाल आयोगले कति सङ्ख्यामा विज्ञापन गर्ने र कति सङ्ख्या आन्तरिक बढुवाका लागि छुट्याउने भन्नेबारे गृहकार्य गरिरहेको आयोगका प्रवक्ता खत्रीले बताए।

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका सातौँ तथा आठौँ तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउने भएको छ । आयोगले असोजको अन्तिम मंगलबार खुला तथा समावेशीतर्फ पदपूर्तिका लागि विज्ञापन गर्ने भएको हो ।

कर्मचारी सिफारिसका लागि आयोगले प्रदेश सरकार र स्थानीय तहसँग माग संकलन गरेको छ । आयोगले गएको २ साउनमा पदपूर्तिका सम्बन्धमा सातौँ र आठौँ तहमा रिक्त पदको विवरण माग गरेको थियो । कर्णालीका ७९ वटामध्ये ७२ स्थानीय तहले मात्र सातौँ र आठौँ तहका कर्मचारीको माग विवरण पेस गरेका छन् ।

प्रदेश लोकसेवा आयोगका प्रवक्ता (उपसचिव) बुद्धिबहादुर खत्रीले छवटा स्थानीय तहबाट भने कर्मचारी पदपूर्तिका लागि विवरण पेस नभएको बताए। उनका अनुसार ७२ वटा स्थानीय तहले सातौँ तहका लागि २२३ पदपूर्तिका लागि माग गरेका छन् ।

कर्णलीका ९ वटा स्थानीय तहले आठौँ तहको कर्मचारीको पदपूर्तिका लागि माग गरेका छन् । जसमा मेडिकल अधिकृतको माग गरिएको छ । आयोगले कर्मचारी पदपूर्तिका लागि आवश्यक विवरण पठाउन भने पनि दुबै तहका कुनै पनि पदमा छवटा स्थानीय तहले माग गरेका छैनन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, डोल्पाको डोल्पोबुद्ध गाउँपालिका, जुम्लाको तिला गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले पदपूर्तिका लागि विवरण पेस नगरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्