५ जनाको मृत्यु : १५ घर बगे, ४ जना बेपत्ता



दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी ५ जनाको मृत्यु भएको हो ।

शुक्रबार राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका-१ सल्लाकी ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए । नौगाडमा पहिरोले १२ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका-३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । लास्कु खोलामा आएको बाढीले मानमतिका पति धनसिंह कार्की, छोराहरू दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए ।

उनीहरूको खोजी भइरहेको छ । डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलमा पूरै क्षति गरेको छ । पावर हाउस बगाएको छ । निर्माणाधीन खार खलंगा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुला तिंकर सडकअन्तर्गत रिंगल तालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ।

महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिंकर सडक पूर्णरूपमा क्षति भएको छ । लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन् ।

महाकाली–४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ । दार्चुला तिंकर सडकमा राति पार्किङ गरी राखिएका जीप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार ५ वटा जीप, १ ट्रयाक्टर र १ ट्रली बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्