मिश्रलाई सिंहको व्यंग्य : ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नु जस्तो होइन’



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २ वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको बताएका छन् । शनिबार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।

नेता सिंहले रविन्द्र मिश्रप्रति इंगित गर्दै २ वर्षसम्म पार्टी टिकाउन नसक्नले देश विकास गर्छु भन्नु नहुने बताए । नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनु जस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिएका छन् ।

उनले देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए । सिंहले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गरेका छन् ।

वि.सं.२०७४ को निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए । सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभइ विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले देश विकास गर्न पुराना काँग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरूले कुनै काम गर्न नसक्ने जिकिर गरेका छन् ।  । परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ रु भन्दै सिंहले प्रश्नसमेत गरेका छन् ।

नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए । उनले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरूले संघीयताको कानून नबनाइदिँदा संघीयतामाथि प्रश्न उठेको आरोप समेत लगाएका छन्  । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर कांग्रेसले देश विकास गर्ने बताए ।

अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली भइरहेको भन्दै शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको सिहको भनाई छ । शिक्षा दिनेसँगै सीप दिनेकामको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेता सिंहले हरेक वडा कार्यालयमा बोर्डमात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्ने काम हुनुपर्ने र रोजगारीको अवसर सिर्जना गर्न आवश्यक रहेको बताए ।

नेता सिंहले आफूले पैसा कमाउन, नाम कमाउन नभइ सेवाका लागि राजनीति गरेको बताएका छन् । भारी मतले विजय गराए देश हाँक्ने क्षमता आफूमा रहेको सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्