जो हुन सक्छन् अन्तिम पटक उम्मेदवार



काठमाडौं । इलाम– १ बाट २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा झलनाथ खनाल उम्मेदवार भएका थिए। अहिले पनि प्रतिनिधिसभामा त्यस क्षेत्रको प्रतिनिधित्व खनालले नै गरेका छन् । २०४८ सालयताका हरेक निर्वाचनमा एमालेले खनाललाई नै उम्मेदवार बनाएको छ।

हाल नेकपा (एकीकृत समाजवादी)का नेता खनालले प्रत्यक्ष चुनावी राजनीतिमा चासो कम भएको जनाउ दिइसकेका छन्। तथापि, यस पटकको चुनावका लागि पनि उनको नाम सिफारिस भएको छ। यस पटक उम्मेदवार भए पनि पाको उमेरका झलनाथको अर्को पटकको निर्वाचनमा रुचि कम देखिएको छ।

त्यसो त केही नेताले अन्तिम पटक निर्वाचन लड्ने घोषणा गरिसकेका छन्। यसमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि छन्। नेकपा (माओवादी केन्द्र )को चुनाव चिह्नमा यस पटक उम्मेदवार हुने घोषणा गरेका डा. भट्टराईले यो अन्तिम निर्वाचन भएको बताइसकेका छन्।

संसदीय राजनीतिको खिलाफमा सशस्त्र युद्धको अगुवाइ गरेका डा. भट्टराई दुवै संविधानसभा निर्वाचनमा गोरखा–२ मा उम्मेदवार भएका थिए। उनी अन्तिम पटक नयाँ शक्ति नेपालको तर्फबाट प्रतिनिधिसभामा विजयी भएका थिए। रामचन्द्र पौडेल २०४८ सालदेखि अहिलेसम्म हरेक चुनावमा उम्मेदवार हुदै आएका छन् ।

तनहुँ जिल्लामा एकसेएक नेतृत्वको विकास, पार्टीमा हराउँदै गएको पकड तथा बढ्दो उमेरका कारण अर्को चुनावमा पौडेल उम्मेदवार हुने कुरामा शङ्का छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीको यो सक्रियता कुन उमेरसम्म ? उनीहरू चुनाव लड्ने कहिलेसम्म ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । ओली पनि २०४८ सालदेखि हरेक पटक उम्मेदवार हुँदै आएका छन् ।

२०४८ र २०५१ सालमा झापा– ६ बाट निर्वाचित उनी २०५६ सालमा झापा–६ र झापा– २ मा विजयी भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा ओली झापा– ७ मा पराजित भएका थिए। त्यसै पुस्ताका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू अझै प्रधानमन्त्री हुने बताइसकेका छन्।

यस पटकको चुनावमा उम्मेदवार भए पनि अबको ५ वर्षमा उनले पनि सक्रिय राजनीतिबाट आफूलाई टाढा राख्ने सम्भावना छ ।
प्रचण्डले अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा देखाइसकेका छन् । तसर्थ, उनी यस चुनावपछि उम्मेदवार नहुने सम्भावना पनि त्यतिकै प्रबल छ।

वामदेव गौतमको साख र राजनीतिक वजन विगतको भन्दा खस्किएको छ। बर्दिया जिल्लाबाट २०४८ र २०५१ सालमा विजयी गौतमकै नेतृत्वमा २०५४ सालमा एमाले विभाजन भएको थियो। २०५६ सालमा एमाले विभाजन भएर बनेको नेकपा (माले)बाट उम्मेदवार बनेका गौतम पराजित भएका थिए।

२०६४ सालमा एमालेबाट उम्मेदवार बनेका गौतम माओवादी उम्मेदवारसँग भारी मतान्तरले हारेका थिए। उनी दोस्रो संविधानसभा निर्वाचनमा भने २ वटा निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। २०७४ सालमा एमाले र माओवादी केन्द्रको उत्तिकै पकड भएको स्थानमा वाम गठबन्धनका उम्मेदवार उनी पराजित भएका हुन्।

यस पटक नेकपा एकता अभियानको स्थापना गरेका वामदेवको अस्थिर राजनीतिमा यो नै अन्तिम पटक उम्मेदवार हुन सक्ने अनुमान छ। २०४८ सालदेखि अहिलेसम्म उम्मेदवार भएका महन्थ ठाकुर ७० वर्षका भए। उनीभन्दा ४ वर्ष जेठा छन्, कृष्णप्रसाद सिटौला । यी दुवैका लागि पनि यस पटकको निर्वाचन अन्तिम निर्वाचन पनि हुन सक्नेछ।

२०४८ सालमा नुवाकोट– १ मा उम्मेदवार भएर पराजित भएका डा. रामशरण महत त्यसयताको निर्वाचनमा उम्मेदवार हुँदै आएका छन्। यस पटक पनि उनी नुवाकोट– १ बाट सिफारिस भएका छन् । डा. महत पनि हाल ७१ वर्षका भइसकेका छन् । अबको संसद् पूरा कार्यकाल रहे अर्को निर्वाचनसम्म उनी ७६ वर्षका हुनेछन् । त्यस समयसम्म उनी पनि उम्मेदवार हुने सम्भावना कम छ।

नेपाली राजनीतिमा लामो समयदेखि प्रभाव जमाइरहेका नेताका लागि विश्राम गर्ने उमेर आइसकेका कारण धेरै शीर्ष नेताका लागि यो अन्तिम निर्वाचन हुन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्