नेपाल र चीनबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल र चीनबीच विभिन्न ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच सहकार्य सुदृढ गर्ने, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न दुवै देश सहमत भएका हुन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चानसु र सभामुख अग्नि सापाकोटाबीच सङ्घीय संसद् भवनमा भएको भेटवार्ताका क्रममा सहमति पत्रमा हस्ताक्षर भएको हो। स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्ने, दुवै देशका संसद्को भ्रमणको आदान–प्रदान, संसद्का मैत्री समूहलाई सक्रिय बनाउन ली र सापकोटाले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई)मा अन्तर आबद्धता वृद्धि गर्दै लाभको सहयोगमा सहजीकरण गर्ने बुँदा समेटिएको छ। समझदारीको पाँचौ बुँदामा भनिएको छ, ‘दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एन्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रहरूबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिनेछन्।’

बीआइआईमा आबद्ध हुन ५ वर्षअघि हस्ताक्षर गरेको नेपालले अझै प्रष्ट योजना अघि सार्न सकेको छैन। चिनियाँ राष्ट्रपति सी चीनफिङको ३ वर्षअघिको नेपाल भ्रमणले २ देशबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अभिवृद्धि गर्न सघाउ पु¥याएको दुवै देशको ठहर छ। दुवै पक्ष संसद्का अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय सङ्गठनहरूको सहयोग सुदृढ गर्न सहमत भएका समझदारीपत्रमा उल्लेख छ।

दुवै देशको प्रतिनिधि मण्डलबीच संसद्को लोत्से हलमा भेटवार्ता भएको हो । चिनियाँ जनकंग्रेस अध्यक्ष ली सभामुख सापकोटाको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएका हुन् । ली ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दिउँसो काठमाडौं आएका हुन् ।

उनी ४ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका परराष्ट्र मन्त्रालयले जनाएको छ। ली र चिनियाँ टोलीको सम्मानमा सभामुख सापकोटाले सोमबार साँझ रात्रिभोजको आयोजना गरे । ली चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीका वरिष्ठ नेता हुन्।

उनी राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङपछिको तेस्रो वरीयतामा छन् । भ्रमण टोलीमा सीसीपी विदेश विभागका अधिकारी, पार्टीका तर्फबाट मन्त्री र राज्यमन्त्रीस्तरका नेता, चिनियाँ विदेश मन्त्रालयका अधिकारी संलग्न रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चिनियाँ राष्ट्रपति सीका विश्वासपात्र मानिने ली नेतृत्वको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्दै छ। टोलीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ।

उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्दै छन् । राजनीतिक भेटवार्ता संसद् भवनमै हुने बताइएको छ।

ली नेतृत्वको टोली भूकम्पपछिको पुनर्निर्माणको अवस्था बुझ्न भोलि (बुधबार) बिहान भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दै छ । भूकम्पले क्षति पुर्‍याएका काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका सम्पदा चीनको सहयोगमा पुनर्निर्माण भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्