एमालेमा १० बुँदे पक्षधर कमजोर बन्दा नवप्रवेशीको प्रभाव बढ्दो



काठमाडौं । आसन्न चुनावका लागि सत्तारुढ गठबन्धनका दलहरूबीच सहमति जुट्न नसकेको समयमा प्रमुख प्रतिपक्षी दल एमालेले भने ५२ निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको छ। यसरी सिफारिस हुनेहरू शीर्ष नेतादेखि ‘नवप्रवेशी’सम्म छन्। १० बुँदे पक्षधर नेता भने कमै मात्र एकल सिफारिसमा पर्न सफल भए।

पार्टी अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट एकल सिफारिस भएका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं– ५ बाट एकल सिफारिस भए । उपाध्यक्ष सुवास नेम्वाङ इलाम– २ बाट तथा उपाध्यक्ष विष्णु पौडेल रुपन्देही– २ बाट एकल सिफारिस भएका छन् । पार्टी महासचिव शङ्कर पोखरेल दाङ– २ बाट एकल सिफारिस भए ।

एमालेमा कैलालीका ३ क्षेत्रबाट नेताहरू एकल सिफारिस भएका छन्। यीमध्ये २ जना गत निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेका नेता हुन् । कैलाली– ३ बाट गौरीशङ्कर चौधरी तथा कैलाली– ४ बाट लेखराज भट्ट एकल सिफारिस भएका हुन् । उनीहरू गत निर्वाचनमा माओवादीका तर्फबाट निर्वाचित भएका हुन्।

यसैगरी रोल्पाबाट पूर्ण बोहरा, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र रोतहट –३ बाट प्रभु शाह सिफारिस भए। यी तीनै जना पूर्वमाओवादी हुन्। गत निर्वाचनमा एमालेको चुनाव चिह्नबाट उम्मेदवार भएर निर्वाचित भएका हृदयेश त्रिपाठी निकट वृजेशकुमार गुप्ता कपिलवस्तु– २ बाट उम्मेदवार सिफारिस भएका छन्।

यसैगरी, जसपाबाट एमाले प्रवेश गरेका मङ्गलप्रसाद गुप्ता कपिलवस्तु– ३ बाट एकल सिफारिस भएका छन्। रुपन्देही– १ बाट छविलाल भुसाल, रुपन्देही– ४ बाट कृष्णप्रसाद भुसाल तथा रुपन्देही– ५ बाट खिमलाल भट्टराई एकल सिफारिस भए।

विगतमा लामो समय ओलीको विरोधीको छवि बनाउनुका बाबजुद विभाजनपछि एमालेमै रहेका रविन कोइराला पनि झापा– १ बाट एकल सिफारिस भएका छन् । उम्मेदवार सिफारिसमा पार्टी विभाजनताकाको चर्चित ‘१० बुँदे’ पक्षधरको प्रभाव भने अत्यन्त न्यून देखिएको छ।

भीम रावल अछाम–१ बाट र ठाकुर गैह्रे पाल्पा– २ बाट एकल सिफारिसमा परे पनि अन्य प्रभावशाली ठानिएका नेताहरू सर्वसम्मत हुन सकेनन्। विभिन्न पार्टीबाट पछिल्लो समय एमाले प्रवेश गरेका धेरै जना अहिले एकल सिफारिसमा परे पनि १० बुँदे पक्षधर धेरै नेताको क्षेत्रमा विवाद छ।

सचिव योगेश भट्टराईको जिल्ला ताप्लेजुङमा उनीसहित ५ जनाको सिफरिस भएको छ। चितवन– १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र जेएन थपलियाको नाम सिफारिस भएको छ । रुपन्देही– ३ मा घनश्यान भुसालसहित ४ जनाको नाम सिफारिस भएको छ।

गुल्मी –१ मा उपमहासचिव प्रदीप ज्ञवाली एकल सिफारिस हुँदा क्षेत्र नम्बर २ मा भने सचिव गोकर्ण विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ । सो क्षेत्रमा राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम पनि सिफारिस भएको छ।

मधेस प्रदेशका प्रभावशाली नेता रघुवीर महासेठ धनुषा– ४ तथा जुली महतो धनुषा– ३ बाट सिफारिस भए। इलाम नगरपालिकाको मेयरको रूपमा २ कार्यकाल पूरा गरेका महेश बस्नेत इलाम– १ बाट सर्वसम्मत सिफारिस भए। सो क्षेत्रमा यसभन्दा अगाडिका हरेक निर्वाचनमा झलनाथ खनाल एमालेबाट उम्मेदवार हुँदै आएका थिए।

मोरङका ३ क्षेत्रमा एकल सिफारिस भएको छ। मोरङ– २ मा ऋषिकेश पोखरेल, मोरङ– ३ मा भानुभक्त ढकाल र मोरङ– ४ मा विनोद ढकाल सर्वसम्मत सिफारिस भएका हुन्।

हालका सांसद जयकुमार राई यसपटक पनि सुनसरी– १ बाट सर्वसम्मत सिफारिस भए। यस अगाडिका दुवै निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भगवती चौधरी यसपटक पनि सुनसरी– ३ बाट एकल सिफारिस भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्