त्यो शिक्षा र यो शिक्षा



अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । हरेक वर्ष २३ भदौलाई हामीले साक्षरता दिवसको रूपमा हेर्ने गरेका छौँ । हामीकहाँ शिक्षा र साक्षरता दिवस पनि राजनीतिक नारा जस्तै भएका छन् । राजनीतिक नारा अधिकांश अधुरा छन्, शिक्षाको विषय पनि त्यस्तै छ ।

यहाँका शिक्षितहरू युरोप, अमेरिकामा पेट्रोल पम्पमा काम गर्न रुचाउँछन् या त कोही खाडीमा भाँडा माझ्न । देशमा गरिबीको अन्त्य भन्दै गर्दा जसरी यसको सङ्ख्या बढ्दै छ, शिक्षाले दिने मानव विकास घट्दै छ । व्यक्तिले आफूसँग जे छ, अरूलाई दिने त्यही हो । ज्ञानीले ज्ञान दिने हो, दुःखीले दुःख, भयभीतले भय, क्रोधीले क्रोध । जुन संस्कारबाट आयो मान्छे, उसले समाजलाई दिने त्यही हो ।

समाजमा हत्या, लुटपाट, हिंसा, तनाव, बलात्कार, चोरी, विखण्डन, अनैतिकता, भ्रष्टाचार, कुप्रवृत्ति त्यसै बढेको होइन, इमान्दारी र नैतिकता अनि विश्वासको अभाव भएपछि घर, भवनमा पर्खाल, साँचो, ताल्चा, भोटे कुकुर र त्यसले पनि काम नगरेपछि सीसी क्यामेरा आवश्यक पर्ने हो ।

अमेरिका, युरोपतिर पनि कम्पाउण्ड वाल हुन्छ तर खुलै । जापानमा वालमा ढोका लगाएको देखिए पनि नजिकै की बक्समा साँचो राखिएको हुन्छ । यही देश हो नेपालमा राजा जनकका पालामा सुनका भाँडाकुँडा रातभरि बाहिरै रहन्थ्यो । अहिले पनि कतिपय देशमा सडकमा हराएको पैसाको थैली पाउनेले कोठामै पुर्‍याउन ल्याउने चलन पनि छ ।

खेतबारीमा अनाज रोपिएन भने झारले सताउँछ, त्यस्तै मानिसको दिमागलाई बोधो राखिए यो बिग्रन्छ । शरीर पूरै अस्वस्थ हुने मात्र होइन, सखापै हुन्छ । दुःखलाई पचाउन नसके निराशा बढ्छ, निन्दालाई पचाउन नसके दुश्मनी बढ्छ, भोजनलाई पचाउन नसके रोग बढ्छ, प्रसंसालाई पचाउन नसके अहङ्कार बढ्छ ।

शिक्षित वा साक्षर हुँदैमा समाज रूपान्तरण हुने होइन, जसले राम्रो बुझेका छन्, उनै धेरै फोहोरी भएका त हामीले सबैतिर देखेकै हौँ । नयाँ पुस्तामा काँधमा जिम्मेवारीको अभाव छ, मस्तिष्कमा समझदारीको अभाव देखिँदै छ । मिहिनेत नगरीकनै ठूलो बन्ने, धनी हुने सोख छ अहिले सबैतिर । राजनीतिक दलहरूले आ–आफ्ना भ्रातृ संस्थाहरू खोल्दै नयाँ पुस्तालाई आफैँ जस्तो हुन प्रशिक्षण गर्दै छन् ।

विद्या ददाति विनयं विनयात् याति पात्रताम्, पात्रतात् धन माप्नोति धनात् धर्म ततः सुखम् (नीति) अर्थात् विद्याले नम्रता दिन्छ, नम्रताले असल पात्र बनाउँछ, असल पात्रबाट धनार्जन हुन्छ, त्यस्तो सत् आर्जित धनले धर्म भई जीवनभरि सुख र त्यसपछि शान्ति मिल्छ । त्यसैले नीतिले नै भनेको छ विद्या धनं सर्व धनं प्रधानम् अर्थात् सबै धनभन्दा विद्यारूपी धन नै ठूलो धन हो ।

ठीक उल्टो आजको शिक्षाले ढुङ्गा हान्न सिकाएको, श्रम, सीपको अभाव भई मौलिकता गुमाएको पराधीन भई झनझन बेरोजगार भई आमाबाबुको घर, खेत बिक्री गर्दै खाडीमा जान प्रेरित गरेको, युरोप, अमेरिकाको सपनामा अभिभावकबाट टाढा भएको बाबुआमा एक्लै भएका र मृत्यु र त्यसपछि पनि सन्तानको अभाव भएको महसुस भएको छ ।

आजको नयाँ पुस्ताले न घर, परिवार, समाज वा देश बोक्न सकेको छ, न त आफू स्वावलम्बी भई स्वआर्जन गर्न सकेको छ । साँचो विद्या त्यस्तो विद्या हो, जसले जीवनलाई जीवन्त बनाउँछ । अक्षर भन्नु क्षर अर्थात् खेर नजानु हो, नष्ट, भ्रष्ट नहुनु हो, नाश नहुनु हो । अझ अक्षर भन्नु त परब्रह्म प्राप्ति हो, मुक्ति पनि हो, उन्मुक्ति हो । अक्षरसहित आफूलाई स्थापित गर्नु साक्षर हुनु हो, कखरा सिक्नु वा ए बी सी डी पढ्दै साक्षर हुने होइन । ठूला डिग्री बोक्दैमा मानिस ठीक हुन्छ भन्ने होइन, अक्षरै नचिनेकाले पनि घर, परिवार, जीवन गतिलो ढङ्गले हाँकेका उदाहरण छन् । हो, ज्ञान प्राप्त गरेपछि विज्ञानको दुरूपयोग गर्नुहुँदैन । बन्दुकको बलभन्दा कलमको बल बढी त हुन्छ नै ।

त्यसबेला बिहानभरि मेला भ्याएर ४ गाँस टिपी कुदेर स्कुल जानुपर्ने, त्यो पनि खाली खुट्टा । आउँदा–जाँदा खोलामा बाढीको पिर त छँदै थियो । स्कुलमा ढिलो हुन नहुने, गुरुलाई मुखाग्र पाठ बुझाउनुपर्ने, लेखेर सबै देखाउनुपर्ने, भन्न सकिएन वा गल्ती भयो वा गृह कार्य गरिएको छैन भने लठ्ठी खानुपर्ने, त्यो पनि हातै रातो हुनुपर्ने गरी ।

हाफ टाइमको समय आधा घन्टा रल्लिँदा ५, १० पैसाको चना, केराउ टोक्दै १५–२० मिनेटको खाली समय कि त भाडामा साइकल लिएर वा स्कुल नजिकै बजारमा सुनिने रेडियोको समाचारले दिनभरिका राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाबारे जानकारी लिनुपर्ने । छुट्टी भएपछि सुरुवालको इँजारले कम्मरमा किताबहरू अड्काएर या त घर फर्कंदा खेतबारीको मलको डोको वा पतकर, घाँस, दाउरा वा बजारका कुनै किनमेल वा फर्कंदा खेतमा धानमा पानी लगाउने, बाउसे गर्ने वा खेत गोड्ने वा गहुँ चुट्ने, काट्ने, गाईबस्तु कता छन्, खोज्दै गोठसम्म ल्याउनुपर्ने अवस्था हुन्थ्यो ।

जसोतसो घरभित्र पुगेपछि टुकी बत्तीमा भात, भान्सा, रसेटो, गाई दुहुनु, खानेकुरो हाल्ने-किताब समाउने फुर्सदै कहाँ पाउने र ! जसोतसो घरधन्दा छिनेर ओछ्यान पुगी भोलि गुरुलाई पाठ बुझाउनुपर्ने तयारी कण्ठ पारेर हो वा लेखेर, गृहकार्य पूरा गर्दा मध्यरात बितिसक्थ्यो । प्रोज, पोयट्री कण्ठ, भाषा उल्था, अल्जेब्राका थिअरमहरू कण्ठ, भाषा, व्याकरण सूत्रसहित कण्ठ, निबन्ध, चिठी लेखन, राष्ट्रिय, अन्तर्राष्ट्रिय सामान्य ज्ञान संसारभरिको सबै जान्नुपर्ने ।

शुक्रबार हाफ छुट्टी भएपछि खेतीका काम, परिवारको अरूको भारो पर्म, मेलाको पालो दिनुपर्ने । सप्ताहान्त बिदाको दिन मन्दिरका गुरुहरूसँग विशेष जीवन दर्शन, पुराण, धर्मकर्मका बारे विवेचना, व्याख्या । मीन पचासको या दसैँ-तिहारको लामो बिदामा गुरुकुल, खेतबारीका सबै काम, भारो पर्म । अलिक ठूलो हुनासाथ स्कुल बिदा मिलाई कथा प्रवचन, सत्सङ्गमा सामेल, ज्योतिष, चिनामा दक्षता हासिल गर्नुपर्ने ।

स्कुल, कलेजका अतिरिक्त घरधन्दादेखि इष्टमित्रकहाँ आउजाउ, जीवनको रहस्यबारे सिकाइ, भोगाइ । हल्का फुर्सद मिल्नासाथ विश्वविद्यालयका पुस्तकालयमा अतिरिक्त ज्ञानका लागि दौडधुप । कीर्तिपुरदेखि हरेक कलेजका पुस्तकालयपिच्छेको सदस्य बनेर, भनौँ, अहोरात्र खटेर २४ घन्टामा ४ घन्टा आराम, बाँकी जीवन कलेज, पुराण, ट्युसन, नोकरी, घर, जग्गाको थप जोहो, कमाइ, बचत, औषधिमूलो, कपडा धुनेदेखि यावत् समस्या एक्लै झेलेर जीवनलाई खार्नुपर्ने अवस्था थियो र पनि जसोतसो सेकेण्ड डिभिजन प्रमाणपत्र हात पर्ने गथ्र्यो ।

समयले कोल्टो फेर्‍यो । नयाँ पुस्ता अहिले ठस्ठसी कन्दै आठ ८ बजेसम्म ओछ्यान छाड्दैन । सोफा वरिपरि पुस्तक छरिएका छन्, मिलाउँदैनन् । बेड टी समयमै चाहिन्छ, दाँत माझ्न शनिबार कुर्नुपर्छ । स्मार्ट फोन, पङ्खामुनि सजिएको कोठा, टेबुल, कुर्सी, ल्यापटप, अनलाइनमा नेटको फि, बाउ, बाजेको घरमा हुने महिनाको खर्चबारे जानकारी छैन ।

एक्लै नुहाउन सक्दैन, नुहाइहाल्यो भने भित्री कपडा, मोजासमेत शौचालयमै छाड्छ । बट्टाबन्दी खाना, त्यो पनि भनेकै बेला । स्कुलले तोकेकै ड्रेसमा आफ्नो कोठामा खाना चम्चाले खाँदै पढेजस्तो, त्यो पनि सँगै अर्को अभिभावक, जान्ने मान्छे बसिदिनुपर्ने । नेपाली अक्षर राम्रो लेख्न सक्दैनन्, स्कुलको फि, स्टेसनरीको खात, व्याग, टाई, सुट, बीएफ र जीएफको भिड ।

बाआमा भन्न नजान्ने, परदेशी गाना कण्ठ हुने, स्वदेशी भूगोल र स्वदेशी, विदेशी समान्यज्ञानको अत्तोपत्तो नभएको । घरको काम, भात, भान्सामा सिन्को नभाँच्ने, कोठालाई होटल सम्झने, इष्टमित्र, खेत, बारी, चाडपर्व केही नजान्ने, मोही, मकै, भटमास, कोदो, फापर, धान, गहुँको बोट नचिन्ने, चाउमिन र चाउचाउको भोको, अण्डा, मासु नभई गाँस नहाल्ने ।

बिहानको तरकारी अर्को छाक दोहोरिन नहुने, शनिबार आउनासाथ २-४ हजारले बाहिर घुम्नुपर्ने । १२ वर्षदेखि नै फिजियोथेरापीको डाक्टर कहाँ छ भन्दै खोज्ने, घरको सरसफाइमा वास्तै नगर्ने, अनलाइनबाहेक अरू मामलामा अत्तोपत्तो केही नभएकाले ए प्लस जीपीए ल्याएको भन्दै लड्डु र पेडा अनि केक र ह्याप्पी बर्थ डे गरिदिनुपर्ने, त्यो पनि तिथिमिति पूर्वीय धर्म, संस्कृतिविपरीत तारेखमा ।

आजको शिक्षाको चमत्कार अचम्मको छ, देखासिकी, विदेशीको नक्कल, उम्रँदै ३ पाते, अभिभावक ऋणमा छ कि धनमा छ, थाहा छैन । दिनमा फुटकर खर्चै हजार । हे दशा ! पराधीन, परनिर्भरता । एक पेज लेख्न राम्ररी सक्दैन, कुनै प्रतिस्पर्धी परीक्षामा सामेल हुनुपरे हालत के होला ? बल्लतल्ल परीक्षै नदिई एसईईको ए प्लस पायो अनि सबैभन्दा महँगो कलेज कुन छ ? भन्दै चहार्ने अनि खाल थापेर व्यापारिक शैलीमा बसेका कलेजले जाल हाल्ने ।

छात्रवृत्तिको नामो निशान छैन । अभिभावले पूरै छात्रवृत्तिमा सरकारी स्कुल, कलेजहरूमा पढे, त्यो पनि आफैँ कमाइ गरेर । अब कलेज एक त खुल्दैन, पैसा पनि अनलाइनमै पठाउनुपर्ने । स्कुल, कलेज गइहाले त्यहीँको गाडी या आफ्नै निजी चाहिने, सार्वजनिक बसमा नजाने । अचम्मको जीपीए ए प्लस छ अहिले । कोही अभिभावक सामान्य पेन्सनमा होलान्, कोही बूढेसकालमा पनि मजदुरी गर्दै होलान्, कोही नङ्लै भए पनि पसलबाट केही सय जोहो गर्लान् । कोही ढुङ्गा, गिट्टी कुटेर, भाडामा बसेर केटाकेटीको भविष्य हेर्लान्, जसोतसो खर्च धानिदेलान् ।

सरकारले शिक्षा निःशुल्क भनेको छ, कहाँ कसले पाउने थाहा छैन । डोकाभरि पैसा नतिरी कुनै स्कुल कलेजले भर्ना लिँदैनन् । पहिले त सरकारी स्कुल, कलेज भनेपछि साना नानीहरू नै ओठ लेप्य्राँउछन्, शिक्षकहरू आफैँ निजीतिर पठाउँछन्, गुणस्तरमा विश्वास नभएरै त होला । निजी संस्थाहरू पनि धेरै चलाख छन्, पढे पनि नपढे पनि जीपीए ए प्लस हालिदिन्छन्, पैसाको खोलाबाढी छ सबैतिर ।

प्रतिक्रिया दिनुहोस्