चालु खाता १६ अर्ब २६ करोडले घाटामा



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता साउन महिनामा १२ करोड ७७ लाखले घाटामा रहेको राष्ट्र बैंकले आज जारी एक विज्ञप्तिमा उल्लेख छ।

गत साउन महिनामा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्