‘समयमै लक्षण पहिचान गर्न सके रोक्न सकिन्छ आत्महत्या



खोटाङ । चिकित्सक तथा प्रहरीहरूले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका उनीहरूले सबै आत्महत्या रोक्न नसकिए पनि समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोकथाम गर्न सकिने बताएका हुन् ।

जिल्ला अस्पताल खोटाङकी डा.नितु लामाले पटक-पटक आत्महत्याको विषयमा कुरा गर्ने मानिसले आत्महत्या गर्नसक्ने हुँदा त्यस्तो कुरा गर्ने साथीभाइ, आफन्त, छिमेकीलाई समयमै सम्झाइ-बुझाइ गर्नुपर्ने बताएकी छन् । ‘प्रायः मानसिक रोग भएका मानिसहरूले आत्महत्या गर्ने गरेको पाइएको हुँदा आफ्नो टोल छिमेकमा त्यस्ता बिरामी देखिएमा उपचारका लागि पठाउनु पर्छ,’ डा.लामाले भनिन्, ‘आत्महत्या समस्याको समाधा होइन, समस्याको सुरुवात हो भनेर बुझाउन सक्नुपर्छ ।’

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रामबालक रायले आत्महत्या गराउन सकने तरिका र पहुँच घटाउनुपर्नेमा जोड दिएका छन् । कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरीलगायतको पहुँचबाट मानसिक बिरामीलाई टाढा राख्नुपर्ने प्रहरी निरीक्षक रायको सुझाव छ ।

‘डिप्रेसन, मद्यपान र सिजोफ्रेनिया जस्ता मानसिक समस्या भएका बिरामीको उपचार गर्ने । पूर्णरूपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापी र औषधिद्वारा उपचार गर्नुपर्छ,’ प्रहरी निरीक्षक रायले भने, ‘आफैमा परिवर्तन, परिवारको माया र समाजको साथले एउटा मानिसलाई मृत्युको मुखबाट हटाउन सक्छ र समाजमा आत्महत्या दर घटाउन सकिन्छ ।’

खोटाङमा आत्महत्या दर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७६र०७७ मा ४९ जना, आर्थिक वर्ष २०७७र०७८ मा ६७ जना, आर्थिक वर्ष २०७८र०७९ मा ६७ जनाले आत्महत्या गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७९र०८० मा ९ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक रायले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आत्महत्या दर बढी देखिएको छ । सबैभन्दा कम जन्तेढुंगा, बराहपोखरी, केपिलासगढी र साकेला गाउँपालिकामा आत्महत्या दर कम देखिएको रायले बताए ।

दिवसको अवसरमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्वन्धी सचेतनामूलक र्‍याली निकालिएको थियो । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, डिएसपी मञ्जिल मुकारुङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्