भक्तपुरको लामाटोलका घरघरमा २४ सै घन्टा निःशुल्क खानेपानी



भक्तपुर । भक्तपुरको लामाटोलमा २४ सै घन्टा खानेपानीको सुविधा पाएका छन् । सूर्यविनायक नगरपालिका-९ मा पर्ने लामाटोल सबै सुविधाले विपन्न छ ।

सहरसम्म पुग्न अर्थात् अरनिको राजमार्गको साँंगासम्म पुग्न डेढ घन्टाको पैदल यात्रा गर्नुबाहेक अरु विकल्प छैन । नगरपालिका भए पनि पहाडको टुप्पो जंगलको घेरमा रहेको यो ठाउँं कुनै गाउँं विकास समिति भन्दा कम छैन ।

सबै कुराले विपन्न भए पनि यो ठाउँं यतिखेर खानेपानीले भने सम्पन्न भएको हो । यहाँंका १८ वटा घरमा घरघरमा २४ सै घन्टा खानेपानी आउँंछ, त्यो पनि निःशुल्क । स्थानीयले खानेपानीको ट्यांकी बनाएपछि यो सर्वसुलभ सुविधा पुगेको हो । स्थानीयले दिनरात नभनी ४० हजार लिटरको ट्यांकी बनाएका छन् । जंगलको बीचमा बनाइएको ट्यांकीबाट तल रहेको १८ घरमै पानीको पाइपलाइन जडान छ ।

आफैले इँटा, सिमेन्ट, डन्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले उनीहरूले ट्यांकी बनाए । यसअघि उनीहरूले पानीको मुहानबाट ट्यांकीसम्म पानी पुयाउन पहाडको जंगलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन बिछ्याए पनि ।

स्थानीय मारसाङ तामाङ सबै कुराले दुःख भए पनि पानीमा आफूहरूको ठाउँं स्वर्ग भएको बताउँंछिन् । ‘जंगलको बीचमा रहेको यो बस्तीमा सबैतिर पानी भए पनि पहिला पानीको समस्या थियो,’ मारसाङले भनिन्, ‘तर अहिले पानीको लागि हाम्रो ठाउँं स्वर्ग भएको छ ।’

दैनिक दुई तीन घन्टा लगाएर भक्तपुरको ख्वप कलेज पढन आउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँं स्थानीयबीच झगडा हुने गरेको सम्झिन् ।

लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट प्राप्त १० लाख रुपैयाँंबाट यो काम भएको बताए । यसका लागि झन्डै दुई महिना स्थानीयले जनश्रमदान गरेको उनले बताए । खानेपानी ट्यांकीको संघीय सांसद प्रेम सुवालले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्