टुंगो लागेन माओवादी केन्द्रको समानुपातिक सूची



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीका बारेमा पदाधिकारी बैठकमा छलफल गरेको छ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समानुपातिक सूचीबारे छलफल भए पनि अझै निष्कर्षमा भने पुग्न बाँकी रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले बताए।

माओवादी केन्द्रले सोमबार पुन: बैठक बसेर समानुपातिक लिष्ट फाइनल गरेर निर्वाचन आयोग बुझाउने तयारी गरेको छ। आइतबार बिहान बसेको पदाधिकारी बैठकले प्रदेशबाट समानुपातिक उम्मेदवार संख्या धेरै आएपछि पुनः सर्ट लिष्ट बनाएर पठाउन निर्देशन दिएको सचिव गणेश शाहले बताए।

‘सात भौगोलिक र तीन गैरभौगोलिकबाट समानुपातिकमा धेरै जनाको नाम केन्द्रमा आयो । कसलाई राख्ने कसलाई फाल्ने गाह्रो भयो’ शाहले भने,‘त्यसैले सबै प्रदेशलाई पुनः एक पटक सर्ट लिष्ट गरेर नाम पठाउन निर्देशन दिएका छौ । प्रदेशले सर्ट लिष्ट गरेर पठाएमा भोलि बस्ने पदाधिकारी बैठकले निर्णय गर्छ।’

प्रदेशबाट तेब्बरको संख्यामा समानुपातिक नाम सिफारिस भएर आएपछि पदाधिकारी बैठकले नाम छनोट गर्न सकस परेको शाहले बताए। आज बसेको पदाधिकारी बैठकले अन्तरिम विधायक बाहेक एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्‍याउने विषयमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्