जबराको पीएसओ र सरकारी गाडी खोसियो



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाइएका छन्। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको २ जना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो।

स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ। औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ। पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ।

संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए। तर ‘प्रहरीले नजरबन्द’ गरेको भन्दै जबरा सरकारी निवासबाट निस्किएका थिएनन्। उनले सर्वोच्च अदालत जाने प्रयास गरेको भए अवरोध गर्ने कानून व्यवसायीको तयारी थियो।

गृह मन्त्रालयका एक उच्च अधिकारीले निलम्बित भइसकेकाले प्रधानन्यायाधीशका रुपमा जबराले सुविधा नपाएका हुन्। ‘खासमा पहिल्यै फिर्ता बोलाउनुपर्ने थियो, ढिलाइ भएको मात्र हो,’ उनले भने। तर मन्त्रालयकै अर्का एक उच्च अधिकृत जबराले सर्वोच्च प्रवेश गर्ने कोशिश गरेपछि सरकारबाट प्रतिक्रिया रुवरुप उनको सुविधा खोसिएको बताउँछन्।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार प्रधानन्यायाधीशले ‘अति विशिष्ट स्तर’को सुरक्षा पाउँछन्। जसअनुसार नेपाली सेनाका १५ र नेपाल प्रहरीका २ जना अधिकृत सुरक्षार्थ खटिन्छन्।

प्रतिक्रिया दिनुहोस्