दसैँका लागि गाउँगाउँ पुग्यो नयाँ नोट



काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार छठलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरले सर्वसाधारणका लागि २ असोजदेखि नोट वितरण थालेको हो।

दसैं बिदा हुनुभन्दा अघिल्लो दिनसम्म नयाँ नोट साट्न सकिनेछ। सिद्धार्थनगर अन्तर्गत पर्ने १० जिल्लामध्ये रुपन्देहीमा राष्ट्र बैंक स्वंयले र अन्य ९ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकमार्फत नयाँ नोट वितरण भइरहेको प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक रञ्जना पंडित पौडेलले बताइन्।

अर्घाखाँची, पाल्पा, गुल्मी, कपिलबस्तु, पूर्वी नवलपरासी र नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंक मार्फत तथा रोल्पा, प्युठान र पूर्वी रुकुममा नेपाल बैंक मार्फत नयाँ नोट पठाइएको छ। बैंकले यस अघि भदौ २६ गतेबाट नै बैक तथा वित्तिय संस्थालाई १ अर्ब ५० करोड ३५ लाख नयाँ नोट पठाएको छ।

पठाइएको नोटमध्ये ५ वटा जिल्लाको नोट कोषमा ६२ करोड ५० लाख, र अन्य बैंक तथा वित्तिय संस्थामा ८७ करोड ८५ लाख नयाँ नोट पठाइएको छ। अझै ४ वटा सुगम जिल्लाको नोट कोषमा नयाँ नोट पठाउन बाँकी रहेको निर्देशक पौडेलले बताइन्। रुपन्देहीको हकमा सर्वसाधारणका लागि नयाँ नोट सिद्धार्थनगर शाखाबाट नै वितरण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्