मनासलु हिमपहिरोमा १ जनाको मृत्यु



काठमाडौं । मनासलु हिमाल आरोहणमा गएका १ जनाको मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित मनासलु आधार शिविरमा हिमपहिरो खस्दा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

क्याम्प ३ र ४ को बीचमा हिमपहिरो खसेपछि सख्त घाइते भएका आरोहण सहयोगी अनुप राईको मृत्यु भएको हो । जितबहादुर तामाङ, निर्मा दोर्जे, डेन्जी शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङलगायत आरोही र आरोहरण सहयोगी घाइते भएका छन् ।

८ हजार १६३ मिटर अग्लो मनासलु हिमाल आरोहणका क्रममा सोमबार १२ बजे आसपासमा हिमपहिरो खसेको हो । खराब मौसमका कारण करिब ५ घन्टापछि मात्रै हेलिकोप्टरमार्फत घाइतेहरूको उद्धार सुरु भएको र जितबहादुर तथा डेन्जीलाई काठमाडौं ल्याइएको पर्यटन विभागले जनाएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित करुणा अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

घाइतेहरूलाई हिमपहिरोको जोखिममा नरहेका अन्य आरोही शेर्पाको सहयोगमा उद्धार भएको गोरखाको सामागाउँमा रहेकी पर्यटन विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालले जानकारी दिइन् । सामागाउँ आधार शिविरबाट करिब ४ घन्टा वरको क्षेत्र हो । घाइते र अन्य आरोहीको उद्धारका लागि सामागाउँमा सिम्रिक र कैलाश एयरका हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन् ।

पर्यटन विभागका अनुसार क्याम्प २ र ३ का घाइतेहरूको अन्य शेर्पा उद्धारमा जुटेका छन् । ‘के कति जना गम्भीर घाइते भएका छन्, के कति हताहती भएको हो भन्ने विस्तृत विवरण आउन बाँकी छ’, विभागका १ अधिकारीले भने । ती अधिकारीका अनुसार तेस्रो आधार शिविरबाट अक्सिजनलगायत सामग्री लिएर चौथो आधार शिविर जाँदै गरेका आरोही र आरोहीका सहयोगी हिउँ पहिरोमा परेका हुन् ।

गत वर्ष २८ कात्तिकमा मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेपछि भागदौड हुँदा ११ जना घाइते भएका थिए । धौलागिरि हिमशृङ्खलाबाट खसेको हिमपहिरो थासाङ गाउँपालिका-२ कोवाङसम्म आइपुग्ने डरमा भागदौड हुँदा विद्यार्थी र स्थानीयसहित ११ जना घाइते भएका थिए ।

अमेरिकी नागरिक बेपत्ता

चर्चित अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनासलुमा स्की गर्ने क्रममा बेपत्ता भएकी छिन् । उनी मनाङतर्फ पर्ने भीमथाङतर्फ हराइरहेकी बताइएको छ । सँगै स्की गर्न गएका जिम म्यारिसन आधार शिविरमा फर्किएको लामो समयसम्म नफर्किएपछि हिलारी बेपत्ता भएको पुष्टि भएको विभागले जनाएको छ ।

हिलारीसहितको टोली काठमाडौंको सांग्रिला नेपाल ट्रेक्स प्रालिबाट मनासलु आरोहणमा गएका थिए । अमेरिकी नागरिक हिलारीलाई नेसनल जिओग्राफीले सन् २०१८ मा साहसी खेलाडीको सूचीमा राखेको थियो । पर्वतारोहणको यो सिजनमा सगरमाथासहित विभिन्न १५ हिमाल आरोहणका लागि ५८ आरोही समूहका ५०६ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

हिमपहिरो अस्वाभाविक होइन डा.

रिजनभक्त कायस्थ, हिमनदी विज्ञ

वर्षायाममा उपल्लो भेगमा हिमपात भइरहन्छ । यस्तो हिउँको मात्रा धेरै भएपछि यो मौसममा सानातिना हिउँका ढिस्का खस्नु, सानोतिनो हिमपहिरो जानु अस्वाभाविक होइन । हिमाली क्षेत्रमा कहिलेकाहीँ ठूलो हिमपहिरो खस्ने गर्छ, तर मानवीय उपस्थिति नहुने भएकाले खासै चर्चामा आउँदैन । अहिले एक्सपिडिसन टिम मनासलुमा भएकाले चर्चाको विषय बन्यो । अहिले मनासलुमा मानवीय उपस्थिति भएकाले मानवीय क्षति र हताहती भएको खबर आइरहेको छ । ३० डिग्रीभन्दा बढी भिरालो हिमाली क्षेत्रमा हिमपहिरो जाने सम्भावना उच्च हुन्छ । हिउँको भार बढी हुँदा भिरालो भेगमा बाह्रैमास हिमपहिरो खस्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्