दसैँ हिले हुने



काठमाडौं । यस वर्षको दसैँ हिले हुने भएको छ। बंगालको खाडीमा विकास भइरहेको मौसमी प्रणालीको प्रत्यक्ष असर नेपाली भू-भागमा पर्ने भएको हो। मध्यम र हल्का वर्षा ३–४ दिनसम्म जारी रहने प्रक्षेपण गरिएको छ। अष्टमीदेखि अधिकांश भेगको मौसम प्रभावित बन्ने र यस्तो प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव साता दिन हाराहारी रहने मौसमविद् राजु प्रधानाङ्गले बताए।

बंगालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दा देशैभरको मौसम प्रभावित बन्ने बताउँदै उनले भने, ‘आगामी साताको अवस्था विश्लेषण गर्दा १ साता हाराहारी मौसम प्रभावित बन्न सक्छ ।’ मनसुन बहिर्गमन हुने दिन नजिकिँदै जाँदा केही दिन वर्षा सक्रिय हुने विगतकै शैली दोहोरिन लागेको प्रधानाङ्गले प्रष्ट्याए। दसैँको समयमा अन्य प्रदेशको तुलनामा प्रदेश १, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा वर्षाको प्रभाव केही बढी हुने विज्ञहरूको ठहर छ।

बंगालको खाडीको प्रभाव भित्रिने भएसँगै यस पटकको मनसुन बहिर्गमन यकिन गर्न अझै केही दिन कुर्नुपर्ने जल तथा मौसम विज्ञान विभागका अधिकारी बताउँछन् । अङ्ग्रेजी महिनाको १३ जुन (३०–३१ जेठ)देखि २ अक्टोबर (१५–१६ असोज)सम्म नेपालको मनसुनी क्यालेन्डर हो ।

गत वर्ष ११ जुनमा सुरु भएको मनसुन ११ अक्टोबरमा नेपालबाट बाहिरिएको थियो । मनसुन आगमन र बहिर्गमनका आधारमा नेपालमा सक्रिय वर्षाको अवधि औसतमा ११२ दिन हुने विभागको विश्लेषण छ । तर, केही वर्षयता नेपालसहित दक्षिण एसियाली देशमा मनसुन अवधि धकेलिँदै गएको छ।

यस पटकको मनसुन २९ असोज हाराहारीमा बिदा हुने जलवायु विज्ञ डा. धर्म उप्रेतीको विश्लेषण छ । भारतको उत्तर प्रदेश, उत्तराखण्डमा आगामी ३ दिनभित्र मनसुन बिदा हुने प्रक्षेपण गरिएसँगै त्यसको आंशिक परिणाम नेपालको सुदूरपश्चिम प्रदेशमा पनि देखिन थाल्ने उनले बताए।

उप्रेतीले भने, ‘भारतीय मौसम विभाग र भारतीय भू–भागमा मनसुन बहिर्गमनको अवस्था विश्लेषण गर्दा यस पटक विजया दशमीको दिनदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुन बिदा हुने भएकाले यी प्रदेशमा १९ असोजपछि वर्षाको असर देखिँदैन ।’ मनसुन बंगालको खाडी, दक्षिण भारतबाट क्रमशः म्यानमार, भारतकै कलकत्ता, सिक्किम, बंगलादेश हुँदै नेपालको पूर्वी भेगबाट भित्रिन्छ । बहिर्गमन भने सुदूरपश्चिमबाट क्रमशः हुने गर्छ ।

विगत १० वर्षको अवधिमा असोज अन्तिम साता हाराहारी मात्र मनसुन बहिर्गमन भएको विभागले जनाएको छ । विभागका अनुसार २ वर्षअघि २०७७ सालमा ३० असोज, २०७६ सालमा २५ असोज, २०७४ सालमा ३० असोज, २०७३ सालमा ३० असोज र २०७० सालमा २ कात्तिकमा मात्र नेपालबाट मनसुन बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्