आगामी निर्वाचनले आर्थिक गतिविधि चलायमान बनाउन सक्दैन : पूर्वगर्भनर नेपाल



काठमाडौं । निर्वाचन समयमा हुने आर्थिक गतिविधिहरूले मुलुकको अर्थतन्त्रमा समेत २ प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । विगतमा नेपालमा पनि निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ ।

निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेदवारहरुले निर्वाचन जित्नको लागि अत्याधिक खर्चिने गर्दछन् । निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ । निर्वाचनको समयमा आर्थिक गतिविधि बढी चलायमान हुने भएकाले अर्थतन्त्र पनि सोही अनुसार चलायमान बन्ने आँकलन गरिन्छ ।

तर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका समयमा मुलुकको अर्थतन्त्र सुस्तगतिमा अगाडि बढिरहेको छ भने बजारले एक वर्षदेखि तरलता अभाव झेलिरहेकाले पनि मुलुकको अर्थतन्त्र निर्वाचनका कारण खासै सुधार नहुने विज्ञहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा। चिरञ्जीवी नेपालले आगामी मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनले मुलुकको अर्थतन्त्रमा सुधार नहुने बताए ।

पूर्वगर्भनर नेपालले विगतका निर्वाचनमा भएका आर्थिक गतिविधिले अर्थतन्त्र चलायमान बनाउने गरेको बताए । पूर्वगर्भनर डा।नेपालले नेपालमा आगामी मंसिर ४ गते हुने निर्वाचनले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउनसक्ने अवस्था नभएको दाबी गरे । उनले मंगलवार एक वर्षदेखि बजारमा देखिएको तरलता अभाव सहजता हुने आँकलन गरिएपनि आगामी निर्वाचनमा बजारमा देखिएको तरलता सहज हुने अवस्था नभएको बताए ।

उनले बजारमा अत्यधिक तरलताको अभाव, विकास निर्माणको काम तथा नीतिगत निर्णयहरू रोकिने,पूरा हुने आयोजनाहरू पूरा नहुने र चुनावले अर्थतन्त्रलाई प्रेसर दिने भएकाले अर्थतन्त्रमा सुधार ल्याउने अवस्था नभएको बताए । पूर्वगर्भनर नेपालले आगामी निर्वाचनले बजारको तरलता अभावसमेत तत्कालै समाधन गर्न नसक्ने उल्लेख गरे । उनले यस पटकको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा अघिल्लो निर्वाचनमा जस्तो आर्थिक गतिविधि बढ्नसक्ने अवस्था नरहेको जिकिर गरे ।

पूर्वगर्भनर नेपालले बैंकहरुमा संकलन भएको निक्षेप संस्था,व्यक्तिहरूले दलगत उम्मेदवारहरुलाई चन्दा दिनको लागि बैंकहरुबाट निकाल्ने बताए । डा। नेपालले बैंकहरुको निक्षेपमा राखिएको पैसासमेत बाहिर जाने भएकाले निर्वाचनको समयमा राष्ट्र बैंकलाई तरलतालाई स्थिर राख्न समस्या हुने पनि बताए । उनले राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुको सिडी रेसियोमा केही लचकता अपनाउन सुझाव दिए ।

डा.नेपालले राष्ट्र बैंकले सिडी रेसियोमा लचकता अपनाएर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैंकहरुमा तरलता सहजता बनाउन सुझाव दिए । उनले बजारमा तरलता अभाव देखिने बित्तिकै अनौपचारिक क्षेत्रमा खर्च बढ्ने डर रहेको बताए । पूर्वगर्भनर नेपालले अनौपचारिक क्षेत्र फस्टाउँदा देशको अर्थतन्त्र कता जान्छ भन्ने थाहा पाउन गाह्रो हुने बताए ।

उनले उद्योग व्यवसाय पनि चलायमान र आर्थिक गतिविधि पनि बन्द नहुने गरी उत्पादनमूलक क्षेत्रमा आवश्यक पर्ने ऋण लगानी गर्ने वातावरण राष्ट्र बैंकले मिलाउनुपर्ने बताए । उनले अहिलेको निर्वाचनको बेला राष्ट्र बैंकले गर्ने भनेकै सिडी रेसियोमा लचकता अपनाएर उत्पादन क्षेत्रमा धेरै पैसा जाने वातावरण बनाउनु भएको दाबी गरे ।

पूर्वगर्भनर नेपालले मौद्रिक नीतिमार्फत कर्जा बिस्तार १२.५ बनाएर कर्जा बिस्तार नगन्य बनाएको बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा बिस्तार १२ प्रतिशत बनाएकाले अर्थतन्त्र ठप्प जस्तै भएको बताए । उनले सरकारले निर्वाचन भन्दा अगाडि खर्च गर्नुपर्ने पुँजीगत खर्च गरेर तरलता व्यवस्थापन गर्नुपर्ने बताए । उनले निर्वाचनको समयमा कालोधन आउनसक्ने सम्भावना प्रशस्त रहेको बताए । उनले कालोधन बैंक तथा वित्तीय संस्थाहरूमा भने नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्