आगामी चुनावमा प्रभाव पार्ने तत्वहरू



  • रघुनाथ अधिकारी ‘निलमशेखर’

काठमाडौं । मैले मेरो घर नजिकैका एक अधवैँसे पुरुषलाई ‘होइन दाइ, चुनाव आएछ नि !’ भनेँ । उनले प्रतिक्रिया दिए, ‘हेर भाइ, जाल, झेल र तिकडम गर्न जान्ने अनि रूपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन् । पहिले केके न गर्छु भनेर बाचा गर्छन् । घरघर आएर नमस्कार गर्छन् । चुनाव जितिसकेपछि नाक–मुख देखाउने होइनन् । कतै भेट भए पनि चिनेको नचिनेझैँ गर्ने हुन् । सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरैजसो नयाँ अनुहारका आएर लुट्ने हुन् चुनावमा ।’

उनी त्यतिकैमा रोकिएनन् । ‘हामी जनताको सेवा गर्ने हौँ भन्छन्, चुनावका बेला देखापर्छन्, अरू बेला हराउँछन् । प्रायः सबैका शहर बजारमा घर छन्, आधाभन्दा धेरैका घर त काठमाडौंमै पनि होलान्। छोराछोरीलाई विदेशका महँगा स्कुलमा पढाउँछन् । हाम्रा स्कुलको हविगत यस्तो छ । राजनीति फोहोरी खेल हो भाइ ! हामी जस्तो पारिवारिक हैसियतका मानिसले चुनावका बारेमा सोच्न पनि सकिँदैन ।’
यी दाइले चुनावका बारेमा उनको धारणा राखेपछि हामी आआफ्नो बाटो लाग्यौँ । मेरा मनमा अनेक कुरा खेल्न थाले ।

यी दाइको भनाइको सार खिच्दा निर्वाचनप्रतिको निराशा, अविश्वास, वितृष्णा र पलायन थियो । मैले एउटा राजनीतिक दलका उपल्लो स्तरका नेताज्यूको भाषण सम्झिएँ । उनको भनाइ थियो, ‘नेपाली जनताको क्रान्तिको उपलब्धि खोस्ने गम्भीर प्रकारको प्रतिगामी षड्यन्त्र भइरहेको छ । यो निर्वाचनमार्फत त्यो षड्यन्त्रलाई निस्तेज पार्दै क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नु छ।’

म अर्का नेताज्यूको भाषण सुनिरहेको थिएँ, ‘हाम्रो राष्ट्र अभूतपूर्व रूपमा खतरामा छ । यो राष्ट्र नै रहने हो कि होइन भन्ने प्रश्न उठेको छ । तसर्थ यस पटक हामीलाई हार्ने सुविधा छैन । जसरी पनि जित्नु छ।’
अर्का नेताको भनाइ थियो, ‘जनताको बलिदानबाट स्थापित लोकतान्त्रिक परिपाटी खतरामा परेको छ । हाम्रो दलले हा¥यो भने सम्झनुहोस्– देश र लोकतन्त्रले हारे, जनताको हार भयो । तसर्थ हामीले जसरी पनि जित्नु छ।’

यस्ता दृष्टिकोणमा अहिलेको लोकतान्त्रिक गणतान्त्रिक संविधान र यो प्रणालीप्रति वा वर्तमान संविधानप्रति पूर्ण वफादार मूलधारको भित्रको दृष्टिकोण, यस प्रणालीको सम्पूर्ण परिवर्तन चाहने दृष्टिकोण र अर्को तटस्थ दृष्टिकोण । यी मोटा दृष्टिकोणहरूभित्र अनेकौँ उपदृष्टिकोणहरू भए/रहेका देखिन्छन्सु/निन्छन् ।

संविधान पक्षधर मूलधारका दल
संविधानको पक्षधर शक्तिहरू यस निर्वाचनमा सहभागी हुने पहिलो शक्ति हुनुका साथै वर्तमानको शक्ति सन्तुलनमा निर्णायक पनि हुन् । संविधान पक्षधरहरूको जमातभित्र पनि विभिन्न दल, सङ्गठन, दृष्टिकोण तथा विचार समूह, दबाब समूह आदि पर्न आँउछन् । उनीहरूभित्र यथास्थितिवादी, सुधारवादी, क्रान्तिकारी र पश्चगामी कित्ताका पक्षधरसमेत छन् ।

संविधानको अंश मात्र पनि परिवर्तन गर्ने आवश्यकता नभएको ठान्नेदेखि लिएर संविधानलाई सुधार गरेर लैजानुपर्ने र संविधानभित्रैबाट संविधानमा आमूल परिवर्तन गर्नुपर्ने शक्तिहरू पनि यसभित्र छन् ।
संविधानका पक्षधर शक्तिहरूभित्र पनि यथार्थमा नवउदारवादी लोकतान्त्रिक धार, समाजवादी/साम्यवादी धार र मधेसवादी धार गरी मुख्य ३ प्रकारका शक्ति र दृष्टिकोणहरू छन् । यी ३ धारभित्र भोट बैंकको हिसाबमा उनीहरूको सिद्धान्त र विचारका दृष्टिकोणबाहेक बाक्लो मत रहेका (पकेट) क्षेत्रहरू छन् ।

माथि उल्लेखित हरेक शक्तिहरूका आआफ्नै उद्देश्य, अभियान र दाउपेचहरू छन् । मधेसवादी दलहरूबाहेकका दलहरू ‘आफ्नो नेतृत्वमा सरकार बनाउनेछौँ’ भनेर जनतालाई आश्वस्त पारिरहेका छन्। यता, मधेसवादी दलहरू आफ्नो बहुमत नपुग्ने सर्वस्वीकृत तथ्य सामु कुनै ठूलो राजनीतिक दलसँग सहकार्य गरी अधिकतम सङ्ख्यामा आफ्ना उम्मेदवारहरूलाई जिताउन चाहन्छन् ताकि सरकार र राज्यसत्ताका विभिन्न निकायहरूमा आफ्नो पकड जमिरहोस् ।

निर्वाचनमा मूलधारका युवा

मूलधारका राजनीतिक दलहरूको प्रभाव क्षेत्रभित्र रहेका युवाहरूलाई सङ्गठित र असङ्गठित गरी २ खेमामा बाँडेर हेर्न सकिन्छ । सङ्गठित युवाहरू विद्यार्थी तथा युवासँग सम्बन्धित जनवर्गीय सङ्गठनका विभिन्न समिति वा त्यसका सदस्यका रूपमा क्रियाशील छन् भने असङ्गठित युवाहरूको मत घुमाइफिराई मूलधारका दलहरूलाई नै हाल्ने गरेका छन् तर उनीहरू आफूलाई स्वतन्त्र देखाउँदै थप स्वतन्त्रताको परिकल्पना गर्छन् ।

दलहरूको निर्वाचन अभियानका निम्ति परिचालित हुने सम्भावित जनसङ्ख्यामा सबैभन्दा उपयुक्त लक्षित समूह यिनै युवाहरू हुन् । निर्वाचन घोषणापत्रमा उल्लेख भएको युवा रोजगार कार्यक्रमबाट आश्वस्त भएर दलको पछि लाग्ने भन्दा पनि उनीहरू दलका विभिन्न तहका नेतृत्वसँगको व्यक्तिगत सम्बन्ध र सामीप्यका आधारमा अनुबन्धित भएका पाइन्छन् । निर्वाचनको समाप्तिको करिब आधा वर्षभित्रमा अधिकांशको मृगतृष्णा टुटिसकेको हुन्छ ।

निर्वाचनमा संविधानका विपक्षी शक्ति

नेपालमा वर्तमान संविधानलाई अस्वीकार गर्ने मूलतः उग्रवामपन्थी शक्ति र घोर दक्षिणपन्थी शक्तिहरू रहेका छन् । उग्रवामपन्थी शक्तिहरू समाज विकासको वस्तुगत आधार र परिपक्वता भन्दा पनि आत्मगत आग्रहका आधारमा कल्पित समाजवादी/साम्यवादी राजनीतिक प्रणालीको परिकल्पना गर्छन् । घोर दक्षिणपन्थी शक्तिहरू पश्चगामी छन् र हालको राजनीतिक प्रणालीको विकल्पका रूपमा थोर बहुत परिमार्जित हुने हिजो सञ्चालित प्रणालीलाई अघि सार्छन् ।

संविधानप्रति मौन र प्रष्ट रूपमा विमति राख्ने अर्को शक्तिमा जातिवाद र क्षेत्रीयतावाद रहेको छ । यस शक्तिको नेपाल निर्माण प्रक्रियामै विमति छ । यसले निर्वाचन जस्ता घटनाहरूलाई पनि आफ्नो सोचअनुसार प्रभावित गर्ने रणनीति अख्तियार गर्छ । वर्तमान संविधानलाई उपयोग गरी यो संविधानको विरोध गर्ने राजनीतिक शक्तिहरूमा तपसिलमा उल्लेख भएबमोजिमका छन् ।

वर्गवादी उग्रवामपन्थ

माक्र्सवादी दर्शनका अनुसार समाज वर्गीय हुन्छ र समाजमा शोषक वर्गले शोषितमाथि शोषण र शासन गर्छ । वर्तमान संविधानले निर्दिष्ट राजनीतिक प्रणालीलाई पुँजीवादी संसदीय प्रणालीका रूपमा लिँदै यसले शोषक वर्गको हित गर्ने ठान्छन् ।

नेपालका साम्यवादी दलहरूले गरेको व्याख्याअनुसार नेपालमा सामन्तवाद तथा नोकरशाही दलाल पुँजीपतिहरू शोषक वर्गमा पर्छन् । उनीहरूले सर्वहारा श्रमजीवी वर्ग जस्तो कि किसान र मजदुरमाथि शोषण र उत्पीडन गर्छन् ।

यही शोषक वर्गका मानिसहरूको हालीमुहाली भएको वर्तमान राज्यसत्ताअन्तर्गत हुने निर्वाचनले शोषक वर्गभित्रको एउटा समूह हटाएर अर्को समूहलाई सरकारमा पुर्‍याउनु मात्र हो, यसले आम शोषित, पीडित जनताको मुक्तिका निम्ति केही भूमिका निर्वाह गर्दैन । फलतः यस्तो शोषकवर्गको वर्ग हितको प्रस्तावना (एजेण्डा)मा हुने निर्वाचनको कुनै अर्थ छैन ।

जातिवाद, क्षेत्रवाद र निर्वाचन

नेपालको राजनीतिभित्र २ खाले जातिवादी धार छन्– एउटा बहुसङ्ख्यक जातीय अहङ्कार बोकेको धार र अर्को अल्पसङ्ख्यक समूहको रूपमा रही पहिचानको आधारमा सङ्घीयताको पुनर्संरचना चाहने सानो आकारको जातीय धार ।

नेपालभरि निर्णायक जनसङ्ख्याको रूपमा नरहेका तर निश्चित क्षेत्रमा परम्परागत बसोबास भएका यस्ता जातीय समुदायहरू पहिचानको आधारमा राज्यको पुनर्संरचना गरी आफ्नो राज्य स्थापना गर्ने मनस्थिति राख्दै वैधानिक कार्यक्रम सञ्चालन गर्छन् । कतिपय गुप्त प्रकारका संस्था र अभियानहरू अलगाववादी सोचले काम गरिरहेको हुन सक्ने कुरालाई नकार्न सकिँदैन ।

धार्मिक साम्प्रदायिकता र निर्वाचन

नेपालमा प्रचलित धार्मिक सम्प्रदायहरूका आँखाले हेर्दा यो निर्वाचन आआफ्नो पक्षमा पार्नका निम्ति सोहीबमोजिम उनीहरूका प्राथमिकता हुने देखिन्छ । अझ स्थानीय निर्वाचनमा त निश्चित धार्मिक सम्प्रदायको उम्मेदवारको हार र जितमा उक्त स्थानमा रहेका धार्मिक मतावलम्बीहरूको सङ्ख्याले निर्णायक हुने गरेको छ ।

हालको निर्वाचनमा हिन्दु राष्ट्रको स्थापनाको मुद्दा प्रखर रूपमा उठाइएको पाइन्छ भने अन्य साना आकारका धार्मिक सम्प्रदायहरूका पनि धर्मनिरपेक्षता र बहुधार्मिक अधिकारका निम्ति प्राथमिकता रहेको देखिन्छ । जे होस्, धार्मिक सम्प्रदायमा आवद्ध मतदाताहरूको आआफ्नै प्राथमिकता छन् ।

प्रवासी जनसङ्ख्या

यस निर्वाचनमा प्रवासमा रहेका आवासीय नेपालीहरू प्रवासी कामदारहरू निर्वाचन प्रभावित गर्ने एउटा महत्वपूर्ण लक्षित जनसङ्ख्या हो। आवासीय नेपालीहरूको सङ्ख्यालाई छाडेर भन्नुपर्दा करिव ५५ लाख नेपालीहरू विभिन्न देशमा वैदेशिक श्रमिकका रूपमा काम गर्छन् ।

उनीहरूले आफ्ना घर परिवार र आफन्तहरूलाई प्रभावित मात्र होइन, निश्चित दल र उम्मेदवारहरूलाई आर्थिक रूपमा सहयोग गर्नसमेत सक्षम बनेका छन् । अझ एनआरएनकै र पार्टी विशेषका सङ्गठनहरूमा सङ्गठित भएका उनीहरू निर्वाचनमा आउँदा मतदाता, नआए चन्दादाता वा प्रचारक अवश्य बन्न सक्छन् ।

छिमेकीहरूको चासो

हाम्रा छिमेकीहरूमा भारत आँगन जोडिएको छिमेकी र चीन कान्लोमाथिको छिमेकीहरूमा रहेका छन् । यस निर्वाचनमा दुवै छिमेकीहरूको आआफ्नै चासो छ । यस निर्वाचनबाट बन्ने नेपाली सरकार र त्यसपछिको राज्यसत्ताको नीतिले उनीहरूको राष्ट्रिय स्वार्थमा के कस्तो असर पर्ला भन्ने उनीहरूको मूल चासो हो ।

निर्वाचनका क्रममा मूलतः जनस्तरका सम्बन्धहरू र आर्थिक स्वार्थ भएका व्यापारिक सम्बन्धहरू प्रभावित भएका हुन्छन् भने पछि गएर राज्य–राज्यबीचका सम्बन्धहरू पनि प्रभावित बन्छन् । छिमेकीहरू चाहन्छन्– निर्वाचनले आफ्नो राष्ट्रहितका निम्ति सकारात्मक रूपमा हेर्ने दलहरू विजयी बनून् । कतिपय अवस्थामा सम्बन्धित देशसँगको व्यापारमा संलग्न भएका व्यापारीहरू परिचालित हुँदा निर्वाचनका लागि आर्थिक स्रोत पनि बन्न पुगेको देखिन्छ ।

आफ्ना हितैषी मित्रहरूको विजयका निम्ति हुने गुप्त सहयोगहरूको सम्भावनालाई पनि नकार्न सकिँदैन । निचोडमा भन्नुपर्दा संविधान पक्षधर मूलधारका दलहरू नै यस निर्वाचनका मुख्य कर्ताहरू हुन् । उनीहरूका आआफ्ना सङ्गठित मतदाताका अतिरिक्त जति धेरै तटस्थ र विरोधी खेमाका मतदातालाई प्रभावित गर्न सक्छन्, त्यति नै विजयी हुने सम्भावना राख्छन् ।
(‘आईएनएस–स्वतन्त्र समाचार’बाट सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्