तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)



काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ।तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ।

तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ। न त जाडो, न त गर्मी। यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनीहरु लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्।

धनमाथि धन कमाइ हाेस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो। एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार। तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ। फूलको मालाले सिँगारिन्छ। अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ।

जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगिन छन्। बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ। तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्