भरतमोहन अधिकारीलाई नागरिक अभिनन्दन गरिने



मोरङ : पूर्व अर्थमन्त्री तथा कम्युनिष्ट नेता ८३ वर्षीय भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्वमा रुपमा अधिकारीलाई आगामी मंसिर १ गते अभिनन्दन गरिने भएको हो । 

ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्ति मध्ये एक जनालाई गरिने अभिनन्दनमा पहिलो पटक अधिकारी परेका हुन् । अभिनन्दनका लागि एलिट क्लबका अध्यक्ष डा. भेषप्रसाद धमलाको अध्यक्षतामा सय भन्दा बढी संघ संस्थाका प्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्व, सांसद, पेशाकर्मी, साहित्यकार समेत सम्मिलित ३ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । 

अध्यक्ष धमलाले यस्तो परम्परा स्थापित गर्दै प्रत्येक वर्ष ज्येष्ठ नागरिकको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका मध्ये एक जनालाई नागरिक अभिनन्दन गरिने जानकारी दिए । 

देशको आर्थिक, सामाजिक, राजनीतिक आन्दोलन तथा ज्येष्ठ नागरिकको हितका लागि महत्त्वपूर्ण योगदान दिएका कारण अधिकारीलाई अभियनन्दन गर्न लागिएको र त्यसको सबै तयारी पूरा भएको जानकारी धमलाले दिए । 

कार्यक्रमलाई व्यवस्थित गर्न ३८ सदस्यीय कार्यसम्पादन समिति पनि बनेको छ । समितिको उपाध्यक्षमा विराटनगरका पूर्व मेयर रमेशचन्द्र पौडेल, सचिवमा मनमोहन स्मृति प्रतिष्ठानका सुभासश्री पोखरेल र कोषाध्यक्षमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे छन् । 

अभिनन्दनका लागि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको संयोजकत्वमा सल्लाहकार समिति र विभिन्न पाँच उपसमिति बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्