कति सुरक्षित छन् राष्ट्रपतिका प्रत्यासी ?



इलाम । सत्ता गठबन्धन दलका तर्फबाट भावी राष्ट्रपतिका रूपमा हेरिएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ४ मङ्सिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम– १ बाट प्रतिस्पर्धामा छन्।

२०४८ सालयता एमालेका तर्फबाट निरन्तर प्रतिस्पर्धामा रहेका खनाल एक पटक मात्र पराजित छन् । यसपटक आफैँले विद्रोह गरेको पार्टी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग उनको अन्तिम र कडा चुनावी टक्कर हुने देखिएको छ।

खनालले यसअघि सार्वजनिक कार्यक्रमहरूमार्फत ४ मङ्सिरको प्रतिनिधिसभा निर्वाचन नै आफ्नो अन्तिम प्रतिस्पर्धा हुने बताइसकेका छन्। २०२१ सालदेखि अविराम राजनीतिको केन्द्रमा रहेका खनाल उमेर र राजनीतिक सहयात्राका हिसाबले कान्छा र आफैँले उत्पादन गरेका कार्यकर्तासँग आमनेसामने हुँदा गत स्थानीय तहको निर्वाचन परिणाम भने खनालको पक्षमा उत्साहजनक देखिँदैन।

सत्ता गठबन्धनका साझा उम्मेदवार खनाललाई टक्कर दिन एमालेले २ पटक इलाम नगरपालिकाको मेयर हाँकिसकेका वर्तमान जिल्ला अध्यक्ष महेश बस्नेतलाई अघि सारेपछि यो क्षेत्रमा कसले बाजी मार्ला भनेर देशव्यापी चासो छ।

पूर्वपार्टी एमालेको ८औँ महाधिवेशनबाट केपी ओलीलाई हराएर अध्यक्ष बनेका, नवौँ महाधिवेशनबाट वरिष्ठ नेतामा निर्वाचित भएका खनाल पूर्वप्रधानमन्त्रीसमेत हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारका रूपमा खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी भएका थिए।

एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट खनालले जित्दा कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत ल्याएका थिए। यसपटक गठबन्धन फेरिएर कांग्रेस, माओवादी केन्द्र र नेकपा एस एकठाउँमा उभिएका छन् भने एमाले एक्लै प्रतिस्पर्धामा छ।

माओवादीले २०७० यता आफ्नो मत परीक्षण गर्न पाएको छैन । २०७४ मा एमालेसँग मिलेर यो पार्टी गत स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग थियो भने यसपटक सोही गठबन्धन निरन्तर छ। ५ वटा स्थानीय तह रहेको इलाम– १ मा गत स्थानीय तह निर्वाचनमा पनि माओवादीले कुनै पालिका प्रमुख जितेको छैन ।

२०७४ सालको एमाले–माओवादी गठबन्धनले ल्याएको मतकै ढाँचामा मत खस्ने हो भने खनालको जित लगभग निश्चित जस्तो देखिन्छ । तर गत स्थानीय तहको निर्वाचनमा इलाम– १ का ५ पालिका प्रमुखहरूले ल्याएको मत परिणमलाई आधार मान्ने हो भने खनाल खतराको क्षेत्रमा छन्।

इलाम– १ मा सूर्योदय नगरपालिका, माई नगरपालिका, माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिका पर्छन्। गत स्थानीय तह निर्वाचनमा पनि एक्लै भिडेको एमालेले माई नगरपालिका र माइजोगमाई गाउँपालिका प्रमुख जितेको छ।

कांग्रेसले रोङ र सन्दकपुर गाउँपालिका जित्दा खनालको पार्टी नेकपा एसले सूर्योदय नगरपालिका प्रमुख जितेको थियो । स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेको एमालेका ५ वटै पालिका प्रमुखले ल्याएको कुल मत ३१ हजार ४२६ छ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एस गठबन्धनले भने यी पालिकाबाट ३२ हजार ७६१ मत ल्याएको छ। पालिका प्रमुखले पाएको मतलाई मात्र आधार मान्ने हो भने बस्नेत खनालभन्दा झिनो मतले मात्र कमजोर छन्।

२०७४ सालमा कांग्रेसले ल्याएको १९ हजार ६३७ मत अहिले पनि कायम छ भन्ने आधारमा हिसाब गर्ने हो भने माओवादी र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा १३ हजार १२४ मत मात्र ल्याएको अनुमान गर्न सकिन्छ।

यस हिसाबले हेर्ने हो भने पनि इलाम–१ मा खनालकै पार्टी र माओवादी केन्द्रको उपस्थिति कमजोर छ।
गत स्थानीय तह निर्वाचनको परिणाम नियाल्दा सूर्योदयबाहेक अन्य पालिकामा नेकपा एसको मत कमजोर छ।

इलाम–१ का ३९ वटा वडामध्ये नेकपा एसले ७ वडाध्यक्ष जितेको छ। यो सफलता गठबन्धनका कारणले भएको हो। अहिले गठबन्धनबाट अलग भएको जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनमा १ हजार ८७४ मत पाएको थियो।

इलाम–१ मा खनालसहित ११ उम्मेदवार छन् । जसमा ३ जना स्वतन्त्र उम्मेदवार छन्। एमालेबाट बस्नेत, जसपाबाट कमलकुमार राई, राप्रपाबाट तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनबाट बुद्धलाल मेचे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीबाट पदमबहादुर लिम्बू र काङ्ग्रेस बीपीबाट गणेशप्रसाद पौडेल उम्मेदवार छन्।

स्वतन्त्रबाट विक्रम पाण्डे, नेत्रप्रसाद रेग्मी र निमा तेन्जिङ शेर्पाले उम्मेदवारी दिएका छन्। इलाम–१ बाट खनाल २०४८, २०५१, २०६४, २०७० र २०७४ मा विजयी भएका थिए भने २०५६ सालको निर्वाचनमा काङ्ग्रेसका बेनुप प्रसाइँसँग पराजित भएका थिए।

एमालेका उम्मेदवार बस्नेत इलाम नगरपालिकाका निवर्तमान मेयर पनि हुन्। उनी २०५४ मा पनि सो नगरपालिका मेयरमा निर्वाचित भएका थिए भने हाल इलाम–१ को सबैभन्दा बढी मतदाता भएको र खनालको राम्रो प्रभाव भएको सूर्योदय नगरपालिकाको एमालेका इन्चार्जसमेत हुन्।

१५ वर्षको उमेरमा मेची विद्यार्थी सङ्गठनको अध्यक्ष बनेका खनाल २०२१ सालदेखि राजनीतिमा क्रियाशील छन्। पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष भइसकेका खनाललाई गठबन्धन दलभित्र राष्ट्रपतिका अघोषित उम्मेदवारका रूपमा हेरिए पनि गठबन्धन प्रधानमन्त्री, राष्ट्रपतिलगायत उम्मेदवार घोषणा नगरी चुनावमा होमिएको छ।

इलामे जनताले बस्नेतलाई हराएर खनाललाई राष्ट्रप्रमुख बन्ने द्वार खोल्छन् कि खोल्दैनन् भन्ने कुतूहल मेट्न भने आगामी ४ मङ्सिरसम्म कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्