दक्षता दौडिन नसकेको खेल उत्सव



काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद महोत्सव गण्डकी प्रदेशमा यसै साता सम्पन्न भएको छ । महोत्सवले धेरैलाई स्टारका रूपमा स्थापित गराएको छ । केही व्यवस्थापकीय कमजोरीका बीच सम्पन्न नवौँ राष्ट्रिय खेलकुद उपलब्धिमूलक या विगतको निरन्तरता मात्र हो ? भन्ने प्रश्न उब्जिएको छ ।

विगतमा भएका केही राष्ट्रिय खेलकुद तथा केही साग खेलले स्टारको रूपमा स्थापित गरेकाहरूको आजको जीवन के छ ? भन्ने गम्भीर प्रश्न आज पनि उत्तिकै सार्थक हुन्छ । विगतमा स्टारका रूपमा उदाएका धेरै स्टार बिदेसिनुको मूल कारण आर्थिक अभाव तथा खेल क्षेत्रमा रहेको खेल भावनाविपरीत भएका गतिविधि दुवै हुन् भन्ने कुरामा कसैको विमति हुन सक्दैन ।

राष्ट्रिय खेलकुदमा एनआरएनको उपस्थिति सुरुमा जति उत्साहजनक थियो, अन्त्यमा त्यति नै विवादादस्पद बन्यो । राष्ट्रिय खेलकुद परिषद्को नीति नै एनआरएनप्रति पूर्वाग्रही देखिएको थियो । हामी आफैँले तथा राज्यको निकायले स्टार ठहर गरेका स्टार देशभित्र रहन असहज महसुस हुँदै बिदेसिनु त त्यत्तिकै दुःखद् मात्र होइन, राज्यको असफलता पनि हो ।

त्यसै असफल राज्यको नेतृत्वले बिदेसिएकाहरूकै सङ्गठनप्रति यति धेरै नकारात्मक हुनु आफैँमा आश्चर्यजनक हो । काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुदको नतिजालाई ऐतिहासिक सफलता मान्ने राज्यले त्यसै सागको कुनै स्वर्ण पदकधारीको आत्महत्यासम्मका घटनालाई सामान्य ठान्न थालेको छ ।

सङ्ख्यामा गन्ने हो भने गत १ दशकका १०० भन्दा बढी नेपाली खेल स्टार संयुक्त अरब इमिरेट्सको सुरक्षा निकायमा कार्यरत छन् । अनुमानित विषय यो हो कि-यस राष्ट्रिय खेलकुदका धेरै स्टार अबका केही वर्षमा त्यसै बाटोमा जाने छन् । राष्ट्रिय खेलकुद महोत्सवपछि नयाँ योजना बनाइने, त्यस खेलकुदका सफल व्यक्तित्वलाई स्थापित गराउने र नयाँ बाटो तय गर्ने काम आजसम्म भएको छैन ।

नवौँ राष्ट्रिय खेलकुदपछि पनि यो सम्भावना विरलै देखिएको छ । नेपाली खेलकुदका प्राविधिकहरूको स्तरमाथि विगतमा पनि प्रश्न नउठेको होइन । योग्यता र दक्षतामाथि नै प्रश्न उठाउने सयौँ मुद्दा फेरि उठेका छन् ।

त्यसो त सुधारका केही पाटा पनि छन् । उद्घाटन र समापन समारोह विगतको भन्दा उत्कृष्ट थियो । विगतका थुप्रै विषयले यस पटक पनि निरन्तरता पाए । शक्तिको समन्वय मिलाउँदै राज्य पक्षबाट लाभ लिने शक्ति विगतमा जस्तै यस पटक पनि सक्रिय थियो । हतारबीच नेपालीको महान चाड दसैं र तिहारको बीचमै राष्ट्रिय खेलकुद आयोजनाका लागि परेको बाध्यताबारे सरकारसँग सायद जबाफ छैन ।

ग्लाइडर नखुलेर प्याराग्लाइडरको मृत्यु दुर्घटना मात्र थिएन, प्रविधिमाथिको गम्भीर खेलाँचीसहितको ठूलो अपराध थियो । निसम थापाको मृत्युकै कारण नवौँ राष्ट्रिय खेलकुद नेपाली खेलकुदकै कालो धब्बा बन्यो । नेपाली खेलकुदका धेरै काला दिनमध्ये थापाको मृत्यु भएको दिन पनि पक्कै हो ।

प्रतिक्रिया दिनुहोस्