नेपाल-भारत सुसम्बन्धका आयाम



  • श्यामप्रसाद मैनाली

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध अरू देशहरूको जस्तो औपचारिकता र कूटनीतिक आवरणमा सीमित छैन । सांस्कृतिक समानता, आपसी सहयोग, पारस्परिक निर्भरता आदिका कारण विश्वका अन्य कुनै पनि देशहरूका बीचको सम्बन्ध नेपाल र भारतको जस्तो निकट हुनै सक्दैन ।
नेपालका अधिकृत दर्जाका सैनिकहरूलाई भारतको सैनिक तालिम केन्द्रले प्रशिक्षण प्रदान गर्नेदेखि नेपालका सेना प्रमुखलाई मानार्थ भारतीय सेनाको जनरलको उपाधिसम्मले स्वतः विभूषित हुने व्यवस्था छ ।

भारतीय सेनामा थुप्रै नेपालीले उच्चस्तरको सेवा प्रदान गरिआएका छन् । दुवै देशका नागरिक राहदानीबिनै दुवै देशमा आवागमन गर्ने, बसोबास गर्ने र रोजगारीसमेत प्राप्त गरिरहेका छन् । दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीच देशको सिमानाले कुनै प्रभाव पार्न सकेको छैन । दुवै देशका नागरिकले देशहरूको स्वामित्वभाव र अपनत्व प्रकट गर्छन् । समय-समयमा सरकारीस्तरमा २ देशबीचको सम्बन्धमा उतारचढाव आउँदा पनि जनस्तरमा अत्यन्त मैत्रीपूर्ण र सौहाद्र्रपूर्ण सम्बन्ध रहिआएको छ ।

यसको प्रतिनिधि उदाहरणका रूपमा लिम्पियाधुरा सिमाना क्षत्रको विवादले उग्र रूप लिई नेपालको संसद्ले संविधानमै संशोधन गरी आफ्नो देशको नक्सामा उक्त क्षेत्र समेटी नयाँ नक्सा जारी गर्दा २ देशहरूका बीचको तनाव बढिरहेको समयमा नेपाली जनताको ठूलो सङ्ख्याले सामाजिक सञ्जालमार्फत बलिउड सिने कलाकार सुशान्तसिंह राजपुतको मृत्युमा शोक व्यक्त गर्दै समवेदना प्रकट गरिरहेका थिए ।

तर लामो समयदेखि २ देशबीचको सम्बन्ध व्यवस्थापनमा देखिएका कमीकमजोरीका कारण नेपाली जनस्तरमा भारतप्रति नकारात्मक धारणाको विकास हुँदैआएको छ । आसपी सुसम्बन्धमा चिसोपना आउँदै जानुका पछाडि धेरै पक्षहरू जिम्मेवार छन् ।

मनोवैज्ञानिक पक्ष

दुवै देशबीच देखिएको मनोवैज्ञानिक पक्ष सुसम्बन्ध विकासका लागि केही हदसम्म अवरोधका रूपमा देखिएका छन् । नेपाल कहिले पनि पराधीन रहेन । सधैं स्वतन्त्र र स्वाभिमान कायम गरेको देश हो नेपाल । भारतलगायत दक्षिण एसियाका धेरै देशहरू ब्रिटिस उपनिवेशमा भएका बेला भारतलाई उपनिवेश बनाई शासन गरिरहेको बेलायतसँग सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र सम्मानित हैसियतमा नेपालले दौत्यसम्बन्ध कायम गरेको थियो ।

यो सम्बन्धले २०० वर्ष पूरा गरिसकेको छ । भारत सन् १९४७ मा मात्र ब्रिटिस उपनिवेशबाट स्वतन्त्र हुन सकेको हो । त्यसैले विश्व संस्थालगायत सबै प्रकारका अन्तर्राष्ट्रिय संस्था र मञ्चमा नेपालले भारतसरहको अधिकार र सम्मान प्राप्त गरिआएको छ । तर भारतीय सोचाइ केही भिन्न देखिन्छ । समुद्रसम्मको पहुँच भारत भएर मात्र उपयोग गर्न सकिने, दैनिक उपभोगका सामानहरू भारतसँग बढी निर्भर रहनुपर्ने, जनसङ्ख्या र क्षेत्रफलका हिसाबले नेपालभन्दा धेरै ठूलो, लामो समयदेखि लोकतन्त्रको अभ्यास भएको शक्ति सम्पन्न राष्ट्रका हिसाबले आफूलाई ‘ठुल्दाइ’को श्रेणीमा राखी नेपाललाई छोटे भाइको व्यवहार गर्दै आएको छ ।

नेपालप्रतिको भारतको व्यवहार सम्मान र समानता प्रदान गर्नेभन्दा दया-माया गर्ने सोचाइबाट ग्रसित छ । नेपालका सानातिना व्यवस्थापनमा समेत भारतको प्रभाव र हस्तक्षेप विभिन्न समयमा देखिँदै आएको छ ।

राणाहरूको शासन इस्ट इन्डिया कम्पनीकै समर्थनमा १०४ वर्षसम्म निरन्तरता प्राप्त गरेको, राणा शासनलाई समाप्त गर्न भारतले नै राजा त्रिभुवनलाई भारतमा शरण दिई सहयोग गर्नु, नेपालको प्रशासन सुधारका विषयमा सरकारलाई सुझावहरू दिन भारतबाटै विज्ञहरू नेपालमा आई काम गर्नु, नेपालको मन्त्रिपरिषद्मा भारतका राजदूत उपस्थित हुने चलन कुनै कालखण्डमा रहनु, नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा भारतले नै समन्वय र सहयोग गर्दै आउनुजस्ता केही उदाहरण हुन् ।

यसले नेपालका उच्च पदस्थ राजनीतिज्ञहरू प्रायः सबैको भक्तिभाव भारतीय शासकहरूतर्फ देखिँदै गएको छ । यस्तै कारणहरू जोडिँदै जाँदा भारतले हाम्रा राजनीतिज्ञहरूको उचाइ र हैसियतको हेक्का राम्ररी राखेकाले उनीहरू सबै दृष्टिकोणले आफूलाई ‘बडे भाइ’कै हैसियतमा राख्न मन पराउँछन् । तर राष्ट्रियता र सार्वभौमसत्ता, भौतिक आकार, जनसङ्ख्या, शक्ति स्रोत, साधन एवं सामथ्र्यसँग तुलना गर्न मिल्दैन । जुन यथार्थलाई भारतले अझै मनन गर्न सकेको देखिँदैन ।

पटक-पटकको नाकाबन्दी

समुद्र तटसम्म पुग्ने मार्ग भारत भएर जानुपर्ने भएकाले आफ्नो अनुकूल नेपाललाई परिचालन गर्न नसक्दाको अवस्थामा नाकाबन्दी गरी आफ्नो अनुकूल सहमतिमा ल्याउने गर्दै जाँदा नेपाली धेरै पटक प्रताडित हुन पुगेका छन् । सन् १९७५, १९८९ र २०१५ मा नाकाबन्दी गरेर नेपाललाई भारतले दुःख दिएको थियो । यसरी पीडाबोध गरिरहेका जनताको भावना विस्तारै भारतीय शासक वर्गका विरुद्ध विकास हुँदै गएको छ । दुवै देशका सरकारबीच सम्बन्ध सुधार भए पनि जनस्तरमा परेको यो नकारात्मक प्रभाव मेट्न भारतलाई धेरै मिहिनेत गर्नुपर्छ ।

सिमाना अतिक्रमण

सिमाना अतिक्रमण गर्न भारत अभ्यस्त छ । सीमा सुरक्षा बल खडा गरी आफ्नो सिमानाको सुरक्षा गर्दै नेपालमा हुने राजनीतिक घटनाक्रममा सहयोग गर्दै प्रत्येक घटनाक्रमपछि नेपाली भूभाग अतिक्रमण गरिरहेको छ ।

नेपालले आफ्नो सिमानाको रक्षा गर्ने जिम्मेवारी स्थायी संयन्त्र खडा गरेर गराउन नसक्नुको कारण भारतलाई नेपाली भूभाग अतिक्रमण गर्न सहज भएको छ । सिमाना अतिक्रमण गर्न नदिने र अतिक्रमण भएकै बखत विरोध गरी यस्ता गलत प्रक्रियालाई निषेध गर्ने हैसियतमा नेपालका विभिन्न कालखण्डका सरकारहरू नदेखिनु, अघिल्लो सरकारलाई जिम्मेवार बनाउँदै पछिल्लो सरकार जिम्मेवारी र जवाफदेहिताबाट पछि हट्दै जानु, भारतीय सुरक्षा दस्ता पटकपटक नेपाल प्रवेश गरी नेपाली नागरिकको हत्या र कुटपिट गर्नु, नेपालीहरूलाई भारतीय सिमानामा अमानवीय व्यवहार पटकपटक हुनु जस्ता कारणले गर्दा नेपालीको भावनामा गम्भीर असर पार्ने काम भारतीय पक्षबाट जारी नै छन् । यस रवैयामा सुधार गर्ने सोच भारतीय पक्षमा देखिएको छैन ।

असन्तुलित सन्धि र समझदारी

नेपालका नदीनालाहरूमा भारतीय स्वार्थ छ । नेपालमा जलस्रोतको अपार भण्डार रहेकाले यसबाट बढी लाभान्वित हुने रणनीति र तानाबाना भारतले बुन्ने गरेको देखिन्छ । यसैबाट फाइदा लिने दाउ पनि देखिन्छ । गण्डकी, कोसी, महाकालीमा सम्झौता गर्दा नेपाललाई नगन्य सुविधा दिई बढी फाइदा भारतले लिइरहेको छ । सन् १९५० मा सम्पन्न भारत र नेपालबीचको शान्ति र मैत्री सन्धिले पनि नेपाली जनताको भारतप्रतिको सोचमा नकारात्मक सन्देश प्रवाह भएको छ ।

यी यस्ता सन्धिहरू हुन्, जसमा नेपालीहरूलाई चुकाइएको छ । यसमा नेपाली राष्ट्रियता र राष्ट्रवादलाई नेपाली नेतृत्वले जानीबुझी विस्मरण गर्दै राष्ट्रिय स्वार्थका विषयमा गलत समझदारी गर्न पुगेको छ । यसका अतिरिक्त भगवान् बुद्धको जन्मस्थल र प्राचीन कपिलवस्तुका बारेमा पनि भारतले समय–समयमा विवाद गर्दै आएको छ । सबै तथ्यले यी दुवै स्थान नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा पर्ने हो । तापनि भारतले कपिलवस्तु जिल्लाको सिमानानजिकै चाकरचौडा क्षेत्रनजिक प्राचीन कपिलवस्तु खडा गरी प्रचारप्रसार गर्दै आएको छ ।

बुद्धको जन्मस्थलका बारेमा लुम्बिनीले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार पाइरहेको छ । तर भारतले अझै पनि विभिन्न मञ्चहरूमा भारतमै भएको दाबी गर्न छाडेको छैन । त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्लाई सम्बोधन गर्दै भगवान् बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा नै भएको स्पष्ट पारिसकेका छन् ।

नेपाल-भारत सम्बन्धमा बेलाबेला चिसोपना बढ्नुमा नेपाली पक्ष पनि जिम्मेवार देखिन्छ । नेपालमा विभिन्न कालखण्डमा विचित्र प्रकारका शासकहरू देखिएका छन् । घरेलु समस्या समाधानमा भारतसँग सहयोगको अपेक्षा नेपाली नेताले बोक्नु नै नेपालीका लागि सबैभन्दा दुःखद् अवस्था हो ।

नेपालको उत्तरी सिमानाका १८ स्थानमा भारतीय सैनिकहरूलाई स्वागत गर्दै अनन्तकालसम्म बस्न दिने प्रधानमन्त्रीदेखि भारतको उत्तरी सिमाना हिमाल नै भएको अभिव्यक्ति भारतीय प्रधानमन्त्री पण्डित नेहरूले दिँदा त्यसको विरोध गर्दै उक्त अभिव्यक्ति सुधार गर्न लगाउनेसम्मका राष्ट्रियताको भावनाले ओतप्रोत भएका प्रधानमन्त्री पनि संयोगवश एकै परिवारका सदस्यहरू देखिए ।

गैरकूटनीतिक अभिव्यक्तिको निरन्तरताको कारण २ देशबीचको सम्बन्धमा थप तिक्तता आई भारतका सांसदहरू र सञ्चारमाध्यमका साथै प्राज्ञहरू समेत लिम्पियाधुरा क्षेत्रमा नेपाललाई अन्याय भएको भनेर सरकारलाई दबाब दिइरहेको स्थितिमा मोदी सरकारलाई अप्ठेरो पर्ने स्थिति बनिरहेको थियो ।

तर हाम्रो अभिव्यक्तिले अब भारतको ध्यान अन्यत्र मोडिएको छ । अब सिमानालगायत विषयमा २ देशबीचको वार्ताको ढोका बन्द गर्ने स्थितिमा भारत पुगिरहेको छ । यसबाट नेपाललाई फेरि पनि अप्ठेरो परेको छ । किनकि सिमानासम्बन्धी समस्याहरूको एकमात्र समाधान भारतसँग वार्ता गरेर मात्र हुन सक्छ । अदूरदर्शी कामकारबाहीले गर्दा २ देशबीचको सम्बन्धमा चिसोपना बढ्दै गएकाले दुवै पक्ष सम्बन्ध सुधारका लागि इमानदारीसाथ लागिपर्नु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्