आयात घटाउने योजनाबिनाका दल



काठमाडौं । चालू आर्थिक वर्षको ३ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० को ३ महिनामै अन्तर्राष्ट्रिय कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ पुगेको देखिन्छ । गत वर्षको यस अवधिसँग तुलना गर्ने हो भने व्यापार घाटा १३ दशमलव १३ प्रतिशतले घटेको देखिन्छ । तर, सूचकहरू हेर्दा आगामी दिनमा यो भयावह अवस्थातिर जाँदैन भन्न सकिँदैन ।

देश यतिबेला चुनावमय छ । राजनीतिक दलहरू चुनाव केन्द्रित हुँदा देशभित्रको पुँजी चलायमान अवस्थामा त छ तर व्यापारिक गतिविधि मात्र होइन, उत्पादनको अवस्था पनि घट्दो छ । चुनावमा एकातिर राष्ट्रिय ढुकुटीको ठूलो हिस्सा खर्च भई उत्पादनमा लगानी घट्छ भने अर्कातर्फ सञ्चित पुँजी चुनावी प्रयोजनमा खर्च हुँदा स्वदेशी उत्पादनमा निजी क्षेत्रको लगानी पनि कम हुँदै जान्छ । यस आधारमा हेर्दा देशमा आउँदा दिनमा व्यापार घाटाको पारो थप बढ्ने निश्चित जस्तो छ ।

गत वर्षको तुलनामा व्यापार घाटा कम हुनुमा नेपालको उत्पादन वृद्धि भई निर्यात बढ्नु मुख्य कारण हुँदै होइन । वैदेशिक मुद्राको सञ्चिति घटेको भन्दै सरकारले केही वस्तुको आयातमा कडाइ गर्दा व्यापार घाटा कम भएको मात्र हो । चालू आर्थिक वर्षमा सरकारले ४ पाङ्ग्रे सवारी साधन, १५० सीसीमाथिका मोटरसाइकल, ३०० डलरमाथिका मोबाइल र तयारी विदेशी मदिराको आयात प्रतिबन्ध जारी नै राखेको छ । यसलाई खुलाएको अवस्थामा घाटाको पारो कहाँ पुग्छ भनेर सहज अनुमान लगाउन सकिन्छ ।

घाटा कम गर्ने नाममा आयातमा प्रतिबन्ध लगाउने तर प्रतिबन्धित वस्तु उत्पादनको नीति भने नबनाउने नै हाम्रो मूल समस्या हो । दलहरूले चुनावका लागि ल्याएका घोषणापत्रमा समेत व्यापार घाटा कम गराउन स्वदेशी उत्पादन वृद्धि र अनावश्यक वस्तुको आयातमा कडाइ गर्ने कुनै नीति आएको देखिँदैन ।

यस हिसाबले नेपाल अझै केही वर्ष घाटाको व्यापारमा निर्भर हुने देखिन्छ । जबसम्म नीति निर्माण तहमा हस्तक्षेप गर्ने राजनीतिक दलहरूले स्वदेशी उत्पादन वृद्धिमा लगानी गर्ने नीति ल्याउँदैनन्, तवसम्म नेपाली मुद्रा विदेशिने क्रम पनि रोकिँदैन । सामाजिक सुरक्षाको नाममा ठूलो रकम खर्च गर्न प्रतिस्पर्धा गर्ने दल, सरकार र सिङ्गो राजनीतिक प्रणाली जबसम्म आन्तरिक उत्पादन बढाई आत्मनिर्भरको योजना कार्यान्वयनमा जाँदैनन्, तबसम्म घाटा कम हुँदैन ।

प्रतिक्रिया दिनुहोस्