बर्दीमा अपराध कहिलेसम्म ?



काठमाडौं । धीरजप्रताप सिंह नेपाल प्रहरीका महानिरीक्षक (आईजी) हुन् । सिंह तिनै व्यक्ति हुन्, जो प्रहरी सङ्गठनमा इमान्दार, सक्षम र सङ्गठनप्रति कटिबद्ध रहनुपर्ने आवाज उठाइरहन्छन् ।

उनी बारम्बार भनिरहन्छन्, ‘प्रहरी हुँ भन्दै अपराध गर्ने छुट कोही कसैलाई छैन ।’ हुन पनि हो-प्रहरी हुँ भन्दैमा समाजमा खलल पुर्‍याउन, अपराध र शक्तिको दुरुपयोग गर्न हुँदैन/पाइँदैन ।

प्रहरी भनेको राज्यको सुरक्षा प्रदायक निकाय हो । जनताप्रति बफादार भएर कानुनले दिएअनुसारका अधिकार प्रयोग गर्दै कानुनको पालना गराउनुपर्ने हुन्छ ।

कानुनको पालना गराउने केही प्रहरीका कारण सङ्गठन मात्र नभएर सङ्गठन प्रमुखको समेत बदनाम हुने गरेको छ ।

पछिल्लो समय देश र जनताको सुरक्षामा खटिन्छु भन्ने प्रहरी जघन्य जस्तो अपराधमा मुछिने गरेका छन्, जसका कारण सिङ्गो प्रहरी सङ्गठनप्रतिको जनविश्वास घट्दो छ ।

अपराध नियन्त्रण गर्ने जिम्मेवारी बोकेका धेरै प्रहरीहरू अहिले पनि अपराधीलाई राख्नुपर्ने हिरासतमा आफैँ बसिरहेका छन् ।

केही प्रहरीकै गलत व्यवहार र आचरणका कारण सिङ्गो प्रहरी सङ्गठनले अन्य थुप्रै आरोपसमेत खेप्नुपरेको छ ।

सुरक्षा कायम गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरू नै अपराधमा संलग्न रहेका घटना सार्वजनिक हुनुले प्रहरीले देशमा दिँदै आएको सुरक्षा र आचरणमाथि गम्भीर प्रश्न उठेको छ ।

जस्तो : प्रहरी निरीक्षक अपूर्व ढुङ्गानालाई हेरौँ । इलाका प्रहरी कार्यालय खानीखोला, धादिङको प्रमुखको रूपमा रहँदा ढुङ्गानाले आफ्नै कार्यालयकी एक महिला प्रहरी कर्मचारीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो ।

बलात्कार जस्तो जघन्य आरोपमा उनी महिनौँ दिनदेखि धादिङ प्रहरी हिरासतमा छन् । देश र जनताको सुरक्षामा खटिनुपर्ने प्रहरी नै यस्तो जघन्य अपराध बलात्कारमा संलग्न भएपछि जनताले के आस गर्ने ?

त्यसैले आखिर बर्दीमा अपराध कहिलेसम्म ? भनेर प्रश्न उब्जिएको छ । इन्स्पेक्टर ढुङ्गानाको विगत आईजी सिंहलाई राम्रोसँग थाहा थियो ।

सिंह आईजी हुनुअघि तिनै ढुङ्गानाले मापसे गरेर आफ्नै प्रहरी कर्मचारी र एक जना ड्राइभरलाई कुटपिटसमेत गरेका थिए ।

उक्त घटनाबारे सिंह जानकार थिए तर आईजी भएपछि ढुङ्गानालाई त्यहाँबाट हटाएर अर्कालाई जिम्मेवारी दिएको भए सायद आज यो दिन आउँदैन थियो । नेतृत्वसमेत यस्ता घटनामा मौन बस्नाले अन्य प्रहरीहरू झनै दिन प्रतिदिन अपराधमा संलग्न हुने क्रम बढेको हो ।

प्रहरी नै अपराधमा संलग्न भएको घटनाले सुरक्षा सम्वेदनशीलताप्रति मात्र प्रश्न उब्जाएको होइन, प्रहरीप्रति नागरिकको विश्वासलाई पातलो पार्ने काम पनि गरेको छ ।

कडा अनुशासन हुने र चेन अफ कमान्डमा चल्ने सुरक्षा निकायमा हुने यस्ता घटना सम्वेदनशील मानिन्छन् ।

जनताको सुरक्षामा सम्वेदनशील र जिम्मेवार हुनुपर्ने प्रहरी बढी नैतिकवान्, असल र इमान्दार हुनु जरुरी छ । यसका लागि स्वयं प्रहरी र प्रहरी सङ्गठन सजग हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्