३ दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक



काठमाडौं । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ। साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ। पछिल्लो ३ दिनमा नेप्से ७९.८१ अंकले बढेको हो।

सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो। लगातार २ दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ।

बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन्। बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १‍.२३ प्रतिशतले गिरावट भएको छ। सोमबार र मंगलबार सेयर मूल्य बढेका बैंकमा बुधबार लगानीतकर्ताको नाफा बुक गर्न खोज्दा ‘सेलिङ प्रेसर’ले बैंकहरुको सेयरमूल्यमा करेक्सन आएको छ।

मंगलबार ३१ भदौ यता १ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ। बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको ७ करोड ८५ लाख ६० हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ६६ लाख १८ हजार र रिडी हाइड्रोपावरको ५ करोड १९ लाख ९६ हजारको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्